सिड्नी सिक्सर्सलाई बिग बाश उपाधि



मेलबर्न, (एजेन्सी) ।

सिड्नी सिक्सर्सले पर्थ स्कचर्सलाई हराएर अस्टे«लियाको घरेलु टी २० लिग बिग बाशमा उपाधि रक्षा गरेको छ ।

शनिबार भएको खेलमा सिड्नीले पर्थलाई २७ रनले हराएर उपाधि रक्षा गरेको हो । टिमलाई उपाधि दिलाउन इंग्लिस ब्याटसम्यान जेम्स भिन्सले शानदार ९५ रन बनाए । ५ रनले शतक प्रहार गर्न चुके पनि भिन्सले आफ्नो टिम सिड्नीलाई बलियो स्कोरमा पुर्‍याएका थिए । उनले प्लेअफमा पनि शतक प्रहार गर्न २ रनले चुकेका थिए ।

भिन्सको सहयोगमा सिड्नीले ६ विकेटको क्षतिमा १ सय ८८ रन जोडेको थियो । जबकि, अन्य ब्याटसम्यानले २० रन कटाउन पनि सकेनन् । पर्थका बलरमा जे रिचार्डसनले २ विकेट लिए भने एन्ड्रयु टाइले पनि दुई विकेट नै हात पारेका थिए । १ विकेट फवार्ड अहमदको नाममा रह्यो ।

जवाफमा पर्थले ९ विकेटको नोक्सानीमा १ सय ६१ रन मात्रै बनाउन सकेको थियो । टिमका लागि इंग्लिस ब्याटसम्यान लायम लिभिङस्टोनले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । अन्यमा क्यामरोन बेनक्रफ्टले ३० रन, आरोन हार्दिले २६ रन र जोश इंग्लिसले २२ रन जोडे । बाँकि ब्याटसम्यानले उल्लेखनीय योगदान दिन नसक्दा पर्थले हार स्विकार गर्नुपर्‍यो । सिड्नीका बलरमा बेन डवारसुइसले सर्वाधिक ३ विकेट लिए । यस्तै, ज्याकसन बर्ड, सीन एबट र डेनिल क्रिस्यिनले २/२ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्