अमन र मार्ते सिंगल्स च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।

भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ ले हराइन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जो विजेता बनेका थिए । पुरुष डबल्समा भारतका आर्यन लक्ष्मनन् र आर्यन शाह च्याम्पियन भए । यस स्पर्धामा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो ।

विजेतालाई आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा ६ दिनसम्म चलेको प्रतियोगितामा समान ३२–३२ पुरुष/महिला खेलाडी सहभागी थिए । यु–१८ उमेरसमूहको प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनी गरी ९ राष्ट्रले भाग लिएको आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

आईटीएफ वल्र्ड टेनिस टुर–जे ५ अन्तर्गत सर्किट २ सोमबारदेखि सातदोबाटोमै शुरू हुँदैछ । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि नै शुुरू भएको छ । सर्किट २ मा पनि समान ३२–३२ पुरुष/महिला खेलाडीले ‘मेन ड्र’ मा सिंगल्स र डबल्स स्पर्धामा खेल्ने छन् । प्रतियोगितामा सर्किट १ मा सहभागी ९ राष्ट्रसहित उज्वेकिस्तानको पनि सहभागिता रहने प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । छनोट चरणबाट समान ६–६ पुरुष/महिला खेलाडीले ‘मेन ड्र’ मा प्रवेश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्