प्रविधिको सदुपयोग गरौँ



प्रविधिका बेफाइदा हुँदाहुँदै पनि यसका असीमित फाइदाहरू छन् । कोरोना माहामारीका कारण अहिले हामी घरमा मात्रै सीमित छौँ । त्यही पनि विधार्थी र कर्मचारी आफ्नो काम प्रविधिका माध्यमबाट घरमा बसी–बसी गरिरहेका छन् । केही मानिसको त जीवन जिउने आधार नै प्रविधि बनेको छ ।

उदाहरण, विश्व प्रसिद्ध कम्पनी माइक्रोसफ्ट । अन्य अनलाइन कारोबार गर्ने कम्पनीलाई पनि लिन सकिन्छ । अहिले त नेपालमा पनि प्रविधिको माध्यमबाट सेवा प्रदान भइरहेको छ । जस्तै– स्कुल, कलेजमा अनलाइन कक्षा, बैंकमा अनलाइन बैंकिङ, सरकारी कार्यालयमा अनलाइन आवेदन आदि । प्रविधिको कारण मानिसको पहुँच पृथ्वीमा मात्र सीमित नभई अन्तरिक्षमा समेत पुगेको छ । प्रविधिको माध्यमबाट विश्वको एक ठाउँबाट समाचार अर्को ठाउँमा मिनेटमै पुग्छ ।

यी सबै फाइदा र बेफाइदा मानव सिर्जित हुन् । त्यसैले यसको समाधान पनि हामीसँगै हुन्छ । बस्, हामीले प्रविधिलाई कस्तोरूपमा प्रयोग गर्ने त्यसमा भर पर्छ । हामीले प्रविधिको उपयोग गर्दा सोच्नुपर्छ कि यसको असर कसलाई र कसरी पर्छ र परिणाम कस्तो निस्किन्छ ।केही मानिस प्रविधिको सदुपयोग गरेर फाइदा उठाइरहेका छन् भने कतिपय मानिस यसको दुरुपयोग गर्नमै व्यस्त हुन्छन् ।

प्रविधिको दुरूपयोग विभिन्न प्रकारले भइरहेको छ । कोही आफ्नो मोबाइल चलाएर समय खेर फालिरहेका छन् भने कोही अफवाह फैलाएर मानिसलाई सताइरहेका । सामाजिक सञ्जालमा नै हेरौं । मानिसहरू गलत समाचार फैलाई मानिसलाई भ्रममा पारिरहेका छन् ।झन् आजभोलि त कसैसँग सानोतिनो मनमुटाव हुनेबित्तिकै मानिसहरू सामाजिक सञ्जालमा, मनमुटाव भएको मानिसको बारेमा व्यर्थ नकारात्मक कुरा फैलाउन थाल्छन् । त्यसैले हामीले प्रविधिलाई सकारात्मकरुपमा प्रयोग गर्न थाल्यो भने हामी निकै प्रगति गर्न सक्छौँ ।

– सुमन मानन्धर

प्रतिक्रिया दिनुहोस्