विप्लव समूहप्रति नरम बन्दै सरकार,मन्त्री थापाले जेलमै पुगेर भेटे विप्लवका नेता



काठमाडौं, (नेस)

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव नेतृत्वका नेतालाई खानेपानीमन्त्री मणि थापाले जेलमै पुगेर भेट गर्नुभएको छ । मन्त्री थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई भेट्नुभएको हो ।

मन्त्री थापाले आफू कारागारको खानेपानीसम्बन्धी अनुगमन गर्न जाने क्रममा नेता वलीसँग भेटघाट भएको बताउनुभयो । संसद् विघटनको निर्णयपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आउनुभएको छ । त्यसै गरी प्रधानमन्त्री ओलीले सरकारद्वारा प्रतिबन्धित भूमिगत विप्लव समूहलाई मूल धारमा ल्याउन संवादको प्रयास अगाडि बढाउनुभएको छ ।

प्रधानमन्त्रीको आग्रहमा मन्त्री थापाले वलीलाई भेट गर्नुभएको बताइएको छ । सरकारले विप्लव समूहमाथि गत २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

साथै उक्त समूहले हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव चन्दले सन्देश पठाउनुभएको छ । तर सरकार भने विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया अगाडि बढाउने अडानमा रहेको छ ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमान्ड इन्जार्च रहनुभएको थियो । उहाँलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रालिको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

वलीलाई जिल्ला अदालत ललितपुरले १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उहाँलाई नख्खु कारागार चलान गरिएको थियो । अदालतले वलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने वीरबहादुर कठायतलाई थुनामा पठाउन आदेश भएको थियो । सरकार विप्लव समूहबीच वार्ताको तयारी भइरहेको बेला मन्त्री थापाले विप्लव समूहका नेतालाई जेलमै पुगेर भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्