१२ जनाको नाममा सिमसार क्षेत्रको नामकरण



यमलाल भुसाल, बुटवल ।

लुम्बिनीको वातावरण बचाउन योगदान पु¥याएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामकरण गरी वातावरण बचाउने अभियानको थालनी गरिएको छ ।

यस वर्षको विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा एक कार्यक्रम गरी यस वर्ष ७ र आगामी वर्ष थप ५ गरी १२ स्थलको सिमसार क्षेत्र विभाजन गरी जलाशयको नामकरण गरिएको छ ।

विशेष गरी वातावरण संरक्षणविना मुलुक मात्र नभई विश्व नै समाप्त हुने खतरा बढ्दै गएकाले पनि सिमसार क्षेत्र नामकरण गरी संरक्षणमा लाग्नुपर्ने जरुरी रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री लीला गिरी, लुम्बिनी प्रदेश सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरद्दिन खान, विश्व वन्यजन्तु कोषका कन्ट्रिडाइरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले संयुक्तरुपमा सिमसार क्षेत्रको शुभारम्भ गर्नुभएको हो ।

लुम्बिनीको वातावरण वचाउन महत्वपूर्ण योगदान गरेका डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिन्मानर्बु शेर्पा, हरिशरण नेपाली काजी, तीर्थमान शाक्य, घनश्याम गुरुङ र जरजेज अर्चिवल्दको नाममा सिमसार क्षेत्र नामकरण गरिएको हो ।

आगामी वर्ष अल्डो लिओपोलड, पोटर म्याटिसन, रिचेल करक्सन, रोब्याट ब्याटिमिन र जोअन्ना म्यासिएको नाममा सिमसार क्षेत्र नामकरण गरी वातावरण बचाउनका लागि कार्यक्रम गर्न लागिएको कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषको क्षेत्रभित्रको जंगल र सिमसार क्षेत्रहरु सारसलगायत अन्य वन्यजन्तुका लागि राम्रो बासस्थानको रुपमा रहेकाले सारस संरक्षणका लागि अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसन यूएसएले सन् १९९४ को डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसँग एक सम्झौता गरेको थियो, जसअनुसार सारस तथा अन्य वन्यजन्तुको संरक्षणका लागि लुम्बिनी विकास कोषअन्तर्गत रहेको १ हजार १ सय ५५ विगाहा जग्गामध्ये ६ सय ६० विगाहा जग्गामा ५० वर्षका लागि पट्टामा उपलब्ध गराई लुम्बिनी सारस आरक्ष स्थापना गरिएको छ ।

लुम्बिनी सारस आरक्षले प्राकृतिक वासस्थानको निर्माण गरी सारसलगायत चराचुरुङ्गी तथा अन्य वन्यजन्तुहरुको संरक्षण, भगवान् बुद्धको उपदेश दर्शाउने गरी चराचुरुङ्गी तथा वन्यजन्तुको संरक्षणसम्बन्धी शिक्षा फैलाउने, स्थानीय बासिन्दालाई लुम्बिनी सारस आरक्ष तथा यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको उचित व्यवस्थापनमा सक्रिय बनाई सारस संरक्षणमा उत्साहित बनाउने र स्थानीय बासिन्दाले प्रयोग गरिएको स्थानमा वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण गर्न सक्रिय नेपालको गैरसरकारी संस्थाको नमुनाको विकास गर्नु प्रमुख लक्ष्य रहेको छ ।

कार्यक्रममा मन्त्री गिरीले जैविक विविधताको संरक्षण अहिलेको प्रमुख चुनौती रहेकाले प्रदेश सरकार सोको संरक्षणमा जुटेको धारणा राख्नुभयो । वातावरण बिगार्ने सबैभन्दा पहिलो दुस्मन प्लास्टिक रहेकाले बुद्धसँग सम्बन्धित जिल्ला र स्थानीय तहमा प्लास्टिकरहित क्षेत्र बनाउनका लागि योजना बनाएको पनि मन्त्री गिरीले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले शुरु गरेको एक गाउँ एक पोखरी अभियानलाई साकार बनाउन जरुरीेको उहाँले जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरद्दिन खानले प्रकृतिको नवीनतम उपहार जैविक विविधताको संरक्षणका लागि मानव जातिले दायित्व कर्तव्य र जिम्मेवारी बढेको धारणा राख्नुभयो । लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन सिमसार क्षेत्रको संरक्षण गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले सिमसार क्षेत्रको संरक्षण र वातावरण जोगाउनका लागि १२ ठाउँमा जलाशय निर्माण शुरु गरिएको बताउनुभयो । सोही समारोहमा लुम्बिनीको प्रचारप्रसारमा सञ्चार क्षेत्रबाट योगदान पु-याएको भन्दै वरिष्ठ पत्रकार चेतन पन्तसहित आधा दर्जन बढीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका कन्ट्रिडाइरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी वौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्य, कोषका सदस्यसचिव सानुराजा शाक्यलगायतले लुम्बिनीलाई धार्मिकसँगै पर्यापर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको धारणा राख्नुभएको थियो ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेबु्रअरी २ मा विश्व सिमसार दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्