डडेल्धुरा, (नेस)
बैतडी जिल्लाको मैलौली नगरपालिका कार्यरत अन्दाजी २८ वर्षीय इन्जिनियर रोशन चन्दलाई किशोरीलाई अपहरण गरेर जबर्जस्ती करणी गरेको अभियोगमा २९ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालत डडेल्धुराका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सोमबार उक्त फैसला गरेको हो ।
इन्जिनियर चन्दले १७ वर्षीया नाबालिका किशोरीलाई शरीर बन्धक बनाएर अपहरण गरेको अभियोगमा ८ वर्ष ६ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै व्यक्तिले अपहरण र नाबालिकालाई जबर्जस्ती गरेको अभियोगमा थप १० वर्ष गरि कुल २९ वर्ष ६ महिना कैद सजायको फैसला सुनाइएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ ।
फैसलामा अभियुक्त चन्दलाई २ लाख जरिवाना र पीडित किशोरीलाई २ लाख ५० हजार क्षतिपूर्ति भराउन आदेश गरिएको छ ।अदालतले गरेको फैसलालाई सिरोधार्य गर्नुपर्ने बाध्यता भए पनि पीडित किशोरीलाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको मान्न सकिने कुनै आधार नभएकाले उच्च अदालतमा न्यायका लागि पुनरावलोकन गरिने अभियुक्त चन्दका पक्षबाट वकालत गरेका अधिवक्ता हरिप्रसाद भट्टले जानकारी दिनुभयो ।
मैलौली नगरपालिकामा ओजेटी गरिरहेकी किशोरीलाई शरीर बन्धक बनाई जबर्जस्ती डडेल्धुरा सदरमुकामको एक होटलमा लगेर करणी गरेको भन्दै आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गरेको थियो ।











प्रतिक्रिया