‘बुमर्‍याङ’ मा ओली !



  • पेशल आचार्य

गएको सोमबार भएको नागरिक समाजको आन्दोलन प्रधानमन्त्री निवास बालुवाटार लक्षित थियो । यसै पनि बालुवाटारवरिपरिको क्षेत्रलाई सरकारले आन्दोलन निषेध क्षेत्र घोषणा गरेको छ । त्यहाँ माघको चिसोमा नागरिक अगुवाहरूलाई पुलिसले कन्चट फुट्ने गरी पिट्यो ।

त्यतिले मात्र गृहमन्त्री रामबहादुर थापा बादलका पुलिसहरूले चित्त बुझाएनन् । ‘हान्, तेरा बाउहरूलाई !’ भनेर कहिलेकाहीँ त ‘आमा चकारी’ गाली पनि गर्ने गर्छन् पुलिसहरू । पुलिसप्रति कुनै गुनासो छैन, किनकि ती आदेशपालक जो हुन्, सरकारका नून खाएका कर्मचारी हुन् । खराब त आदेश दिने सरकार र उसका मुखियाहरू हुन् ।

सपाट शैलीमा भन्ने हो भने, ओली स्थानीय निर्वाचनमै देउवा–प्रचण्ड अप्राकृतिक चुनावी गठबन्धनका विपक्षी थिए तर उनले यी कुरालाई वाच्यार्थमा ल्याएनन् । प्रचण्डले पनि देउवाको ‘ठेकी–मदानी’ प्रयोग गरेर जब भरतपुरमा छोरीका नाममा ‘नौनी’ झिके अनि ओली रिसले मुर्मुरिए । संघीय चुनावमा ओलीले एकताको पासो फ्याँके र जालमा प्रचण्ड सहजै परे ।

यतिखेर कामचलाउ भाँतीका प्रधानमन्त्री ओली आफ्नै राजनीतिक हतियारका ‘बुमर्‍याङ’ मा परेका छन् ।
सोही दिन धेरै नागरिक अगुवाहरू पक्राउ परे । पानीको फोहोराले ढलाएका आन्दोलनकारीहरूको भागदौडको दृश्य टिठलाग्दो थियो । अझ टिठलाग्दो अनुहार त त्यहाँ नेपाली ढाका टोपीमा सग्लो नेकपाका स्थायी समिति सदस्य र हाल नेकपा प्रचण्ड–नेपाल गुटका नेता रघुजी पन्तको मलिन अनुहार पुलिसको घेराबन्दीमा थियो । धेरैले उनलाई पनि ‘नागरिक अगुवा’ भनिरहेका थिए ।

पहिलोपटक नागरिक अगुवाको पहिचानमा देखिएका उनी के हुन् वा के होइनन्, त्यो तपसिलको प्रश्न हो, जसको उत्तर समयले दिँदै जानेछ । तर त्यहाँ भएको दमन र नागरिक अगुवाहरूमाथिको सांघातिक आक्रमण सरकारको चरम अमानवीय प्रस्तुति पक्कै हो ।

यस्तो लाग्थ्यो त्यो दृश्य देख्दा कि अब ओलीतन्त्र छिट्टै अन्त्य हुँदै छ । तर के एउटा– दुइटा दमनले मात्र अहिले सडकमा आन्दोलनकारीहरूले भन्दै आएका ‘छोटे तानाशाह’ र ‘ओलीतन्त्र’को समूल अन्त्य हुन्छ त ? बौद्धिक वर्गमा यही चर्चा–परिचर्चा हुने गर्छ ।

ओलीतन्त्रको अन्त्य कसरी हुन्छ भन्दा पनि यो तन्त्र कसरी उदायो र नेपाली राजनीतिमा स्थापित भयो भन्नेतर्फ गहिराइमा जानुपर्ने हुन्छ । थेसिसका भाँतीमा विषयको मिमांसा नगरीकन सपाट शैलीमा भन्ने हो भने, ओली स्थानीय निर्वाचनमै देउवा–प्रचण्ड अप्राकृतिक चुनावी गठबन्धनका विपक्षी थिए तर उनले यी कुरालाई वाच्यार्थमा ल्याएनन् ।

प्रचण्डले पनि देउवाको ‘ठेकी–मदानी’ प्रयोग गरेर जब भरतपुरमा छोरीका नाममा ‘नौनी’ झिके अनि ओली रिसले मुर्मुरिए । संघीय चुनावमा ओलीले एकताको पासो फ्याँके र जालमा प्रचण्ड सहजै परे । प्रचण्डलाई स्थानीय चुनावमा कांग्रेससँग मिलेर आफ्ना सन्तान, नेता र आसेपासेलाई सेट गर्नु थियो, जब त्यो पूरा भयो उनले कांग्रेसलाई राजनीतिक तबरले ‘लात मारेका’ हुन् ।

केन्द्रीय चुनावमा ओलीले ‘शत्रुको शत्रु मित्रु हुन्छ’ भन्ने राजनीतिक आहानलाई युज गर्ने जमर्को गरे, नभन्दै सो सूत्र काम लाग्यो । एमालेको प्रधान र राजनीतिक शत्रु भनेकै २०४८ सालको चुनावदेखिकै कांग्रेस रहिआएको थियो । सोही तबरले कांग्रेस र माओवादीको एकता टुटाउनु ओलीको प्रथम उद्देश्य त छँदै थियो भने दोस्रो जनताबाट क्रमशः मोह भङ्ग हुँदै गएका प्रचण्डलाई उनको साइजको वास्तविकताको महसुस गराएर एकता गराउनु थियो ।

नभन्दै प्रचण्डले अनेक कवचमध्ये एकतालाई दह्रो सुरक्षाकवच ठानेर ओलीसँग साठी–चालीसको एकता स्वीकारेका हुन् । नत्र बेग्लाबेग्लै चुनावमा गएका भए को कति पानीमा हुन्थे, त्यो त्यति बेलै थाहा हुन्थ्यो ।
दुवै बूढाहरू ‘घिउ बेचुवा र तरबार बेचुवा’ को शैलीमा शंकाको सुविधा एक–अर्कालाई दिएरै एकताको विन्दुमा आएका हुन् ।

तर दुवैको भित्री मनमा भने आफ्नो सर्दो पर्दा दुवैले दुवैलाई बाँकी नराख्ने भन्ने सोच पहिलेदेखि नै रहिरहेको बुझिन्छ । चौरासी घुमाउन जान्ने झापाली नेता ओलीले हल्का भावनामा बहने प्रचण्डलाई कहिले ‘जेटको पाइलट’ भनेर फुरुङ्ग पारे भने कहिले ‘कार्यकारी दोस्रो अध्यक्ष’ भनेर ढाँटे । ओलीको चुनावी अभियानदेखि नै राजनीतिक विश्लेषकहरूले उनीमाथि अनेक प्रश्नहरू नउब्जाएका होइनन् ।

धनुषामा उनले राजेन्द्र महतोलाई जिताउन जुन किसिमको सद्भाव दिए, त्यसले विमलेन्द्र मात्र पछारिएनन् देशकै राजनीतिक सिनारियो बदलियो । उता राप्रपाका झापामा राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको टक्करमा त्यही गत दोहोरियो । सकुनी पासा फ्याँक्न माहिर ओलीसँग कसैको केही लागेन ।

त्यसै पनि महाधिवेशनबाट अध्यक्ष चुनिएकै थिए, झन् दुई पार्टी एक भएपछि संसदीय दलमा सर्वसम्मत नेता भए अनि इतिहासमै कहिले नपाएको बहुमत पाएर प्रधानमन्त्रीको कुर्सीमा चढे । उनले देशको, उनको, आर्थिक व्यवहारको र जनताको समेत औकातभन्दा धेरै ठूल्ठूला सपनाहरू देखे ।

कति आफैँले देखे त कतिपय सल्लाहकार र शुभेच्छुकहरूका आँखाबाट देखेका सपनालाई आफ्ना सपना भनिदिए तर भित्रभित्र उनको मनमा परेका बेला प्रचण्डलाई हुत्याएर किनारामै पु¥याउने प्रचण्ड षड्यन्त्र छिपेको रहेछ ।

गएको पुस ५ गतेपछिका करिब सवा महिनामा उनको र प्रचण्डको दोहोरी, नाटक, नौटङ्की, प्रहसन र कटाक्षलाई हेर्दा यी चानचुने कालले नमर्ने, अजर, अविनाशी र सधैँ बाँचिमात्रै रहने ध्येय भएका नेता हुन् कि जस्तो लाग्न थालिसक्यो ।

होली वाइन ख्वाउने कार्यक्रममा यिनै थिए । सम्मान थाप्ने यिनै भए । भलै सो कार्यक्रममा प्रचण्ड अनेक बहाना देखाएर ओझेल परे । यही बेलादेखि नै यिनीहरूको व्यवहार ‘माछा देख्दा दुलामा हात र सर्प देख्दा पाखामा हात’ शैलीको देखियो । भलै ओलीले प्रचण्डलाई माथिदेखि तल गाउँस्तरसम्म एकीकरणमा झुलाइरहे ।

प्रचण्डलाई नसोचेको सम्मान, सिट र भागवण्डाको राजनीतिले फाइदै भयो । प्रमुख प्रतिपक्ष सातो हराएजस्तो भएर वाचाल मुद्रामा संसद्मा उपस्थितिमा सीमित थियो । एकप्रकारले ओली–दाहालले चाहेका भए ‘समृद्धि र विकास’ को जुन गुलियो नारा जनतामा फ्याँके, त्यो स्वास्थ्य बिमाको कार्यक्रम अनिवार्य भएर देशैभरि एकैचोटि लागू हुन्थ्यो भने जनताले त्यो बेलाँ यी दुवै बूढा नेताको जयजयकार गर्दथे ।

मार्सी चामलको भात खाएर डा. गोविन्द केसीको उचित र मनासिव आन्दोलनविरुद्धमा विष वमन गर्नु नै पर्थेन । भला, मेडिकल कलेज स्थापना र चिकित्सा शिक्षा सर्वसुलभ पार्नका लागि आफ्नै हनुमानहरूलाई विश्वास मानेर काम गर्दा हुन्थ्यो । दाहाल र ओलीका चम्चाहरूले समृद्धि भनेको बाटो, पुल, भ्यु टावर, आकाशे पुल, रेल, पानीजहाज र मेघा सिटी भनेर यी दुईका कान भरे ।

आन्दोलनबाट स्थापित भएका यी पुराना सोचका बूढाहरूमा नयाँ समृद्धि त नयाँ सफ्ट पावरका साथ कृषिको यान्त्रिकीकरण, सामूहिक खेती प्रणाली, निर्यातमुखी कृषिको संस्कार र कृषिका सबै उपज उत्पादनमा युवावर्गलाई जोड्न सकियो भने त्यसले ल्याउने आर्थिक, सामाजिक र बौद्धिक परिवर्तनसँगै गाँसिएर समृद्धि आउँछ भन्ने विश्वास नै भएन । सल्लाहकारहरूले सो कुरा बुझाउने लेठो नै गरेनन् ।

ओली अहिले आफ्नै ‘तित्रे शैली’, फुर्के पारा, अरूलाई ओल्चेर मिनिमाइज गर्ने अहम् सोचकै कारण प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा नपुग्दै राजनीतिक बुमर्‍याङमा परेका हुन् । उनी जसलाई काखी चेप्छन् तिनीहरूलाई विधि र विधान मिचेरै धर्मपुत्रसरह व्यवहार गर्छन् । यो सन्दर्भ पोष्यपुत्रका भूमिकामा रहेका महेश बस्नेत र गोकुल बाँस्कोटा मार्काका कार्यकर्ताहरूका गडफादर भनाउन मन पराउने फुर्के स्वभावका ओलीले तिनीहरूले गरेका हर्कतलाई सर्लक्कै नछोपिदिएका भए सुशासन र पारदर्शिताका नाममा तिनी एकलहर अघि बढ्ने थिए ।

नत्र जनताले तिनलाई के मानेमा कांग्रेसका शेरबहादुर देउवा र माओवादीका पुष्पकमल दहालभन्दा उम्दो प्रधानमन्त्रीका रूपमा लिने ? आधार खै त ? भूकम्पपछि नाकाबन्दीमा नेपाली जनताले यिनको असली मुखुण्डो देखिनसकेका हुनाले राष्ट्रवादी बनेका हुन् । भलै सो कदममा पनि अनेक विरोधाभास रहेछन्, अहिले विचार्दा थाहा हुन्छ ।

एमाले र माओवादी केन्द्रको मिलन हिन्दीको ‘चार दिनकी चाँदनी फिर अँधेरी रात’ भनेझैँ भयो । पद भागवण्डाका बखेडा मिलाउन सकेका भए यिनीहरूले नसोचेको बहुमत ल्याएर जनताको मन जित्ने सौभाग्य पाएकै हुन् । अर्को चुनावमा पनि यिनीहरूले ठूल्ठूला विकासका पूर्वाधारहरू खडा गरेर जनतालाई देखाउन सक्या भए र शिक्षा, सार्वजनिक स्वास्थ्य, कृषि र सार्वजनिक यातायातमा ‘ले मेनहरू’ का लागि मन जित्ने गरी कार्यक्रम र नीतिको संयोजन गर्न सकेका भए यी दुवै करिब–करिब अमर नेता हुने लाइनमा लाग्नेथिए । यिनीहरूलाई आफूले पाएको मतको हेक्का नै भएन ।

यिनीहरूलाई आफ्नो शक्तिको एहसास नै रहेन । कस्तुरीझैँ नाभीमा विना लिएर घटनाहरूले देखाएझैँ यिनीहरू विदेशी प्रभुको पाउमा कहिले को, कहिले को साष्टाङ्ग दण्डवत् गर्न पुगे ।अघिल्ला सरकारहरूले ध्वस्त पारेका सार्वजनिक शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रलाई मात्र कुँडाकर्कटरहित, बिचौलिया, डन, तिग्रेमुङ्ग्रे, दलाल र माफियाहरूबाट मात्र बँचाउन सकेका भए यिनीहरू अझै एक–दुई चुनावमा छक्का मार्ने थिए ।

तर दुःखका साथ भन्नुपर्छ, यिनीहरूले त्यो करिब–करिब दुई तिहाइको सरकारलाई लुटी खाने र भुटी खाने माध्यम बनाए । गायकले देश, काल र परिस्थिति सुहाउँदो ‘लुट कान्छा लुट’ शैलीको गीत बनाएर गाएको ठिक्कै थियो तर यी सबै मिलेर लखेट्न थाले । जनताको सेन्टिमेन्टले गायकको गीतलाई ठीक मानिसकेको अवस्था थियो ।

ठीक त्यस्तै स्वार्थको मार्सी भात खुवाउने ‘अस्पताल साहू’ दुर्गा प्रसाईंलाई अनावश्यक भाउ दिएर हिरो बनाउने र जनताको स्वास्थ्यप्रतिको चिन्ता र समग्र स्वास्थ्य क्षेत्रको फोहोर सिनित्त बनाउने असल अभियन्ता डा. गोविन्द केसीलाई असल भनाउन नदिने पनि यिनै दुई बूढाहरू हुन् । नयाँ पुस्ताको चेतना ह्वात्तै माथि गैसकेको छ ।

अब हामी मेनेजेरियल पुस्ता हुन सकेनौं भने चाँडोभन्दा चाँडो हाम्रो सत्ता नयाँ पुस्तालाई हस्तान्तरण गरेर हामी सल्लाहकार बन्नुपर्छ भन्ने पनि यिनीहरूले सोचेनन् । नाभीमा भएका षड्यन्त्रहरू सफल पार्न ओली अनेक सेटिङमा सफल हुँदै गए तर दाहाल ती सबै चटक हेर्न बाध्य भए । अहिले आएर आफूले खनेका खाडलमा ओली पर्न लाग्दै छन् ।

यिनले संसद् विघटनमा धारा उल्लेख नगरेका कुरा, राजपत्रमा सूचना नछापेका कुरा र सर्वमान्य कानुन व्यवसायीलाई होच्याएर अदालतको समेत अपहेलना गरेका कुरा अहिले आएर बाहिर आउँदै छन् । यी सबै कामहरूबाट यी शनैःशनैः आफ्नो ‘बुमर्‍याङ’ मा आफैँ परेका त होइनन् ? अहिले बौद्धिक व्यक्तिहरू र बौद्धिक सर्कलहरू गाउँठाउँमा समेत यिनै कुरा गर्दा रहेछन् ।

प्रतिक्रिया दिनुहोस्