मनाङमा फेरि भीषण आगलागी : मानव बस्ती जोगाउनै हम्मेहम्मे



  • यदुप्रसाद भट्ट, काठमाडौं ।
  • थुतेन लामा, मनाङ ।

मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं. ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उहाँले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताउनुभयो ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको छ र आगो मानव बस्तीनजिक पुगेको छ ।

भिरालो भौगोलिक बनावटका कारण आगो नियन्त्रणमा लिन कठिन भएको उहाँको भनाइ थियो । आगोको लप्का र ढुंगा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि सय जनाको टोली आगो नियन्त्रणमा ल्याउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौं, बस्तीभन्दा सय मिटर टाढा मात्रै आगो छ ।’ उहाँले नयाँ दाउराघाँसको आसले स्थानीयले आगो लगाएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

त्यसै गरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुन सक्ने बताउनुभयो । उहाँले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा नियन्त्रणमा लिन गाह्रो परेको बताउनुभयो । गौतमले भन्नुभयो– ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर नियन्त्रणमा लिने प्रयास गर्दै छौं ।’

यसैबीच सदरमुकाम चामेनजिकै तलेखुमा लागेको आगो नियन्त्रणमा लिएको गौतमले जानकारी दिनुभयो । यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयले आफूहरु त्रसित भएको बताएका छन् । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुडी नष्ट हुने भन्दै उनीहरुले जंगली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् ।

अग्ला पहाडमा रहेको जंगलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक नियन्त्रण गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मंसिर ११ गतेदेखि लागेको आगो पूर्णरुपमा नियन्त्रणमा नआउँदै फेरि आगो लाग्नुले मनाङका जंगल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । किन कसले आगो लगाएको हो दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्