कांग्रेसले अविश्वासको पक्षमा मतदान गर्ने



नेपाल समाचारपत्र, विराटनगर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस मुख्य प्रतिपक्ष भएकाले संघ र प्रदेशमा अविश्वासको मतका पक्षमा मतदान गर्ने बताउनुभएको छ । शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले कांग्रेसले प्रस्ट भएर जिम्मेवाररूपमा प्रतिपक्षीको भूमिका निभाउने बताउनुभएको छ । ‘हामी भागवण्डामा लोभिँदैनौं, प्रतिपक्षको धर्म प्रस्ट निभाउँछौं, यसैले सत्ताको विपक्षमा मत हाल्छौं ।’ –उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकाले नसच्चिएसम्म नेपाली कांग्रेस कुनै हालतमा चुनावमा जान नसक्ने पौडेलको भनाइ छ । ‘नेपाली कांग्रेस संविधानले प्रदान गरेको कानुनको हकअनुसारको चुनावमा मात्र भाग लिने हो’, उहाँले भन्नुभयो– ‘तर, कसैले लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा जान सक्दैन ।’

नेता पौडेलले पटक–पटक लहड र सनकका लागि अर्बौं खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकाले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने प्रस्ट पार्नुभयो । उहाँले संविधानमा प्रस्टरूपमा प्रतिनिधिसभा भत्काउन पाइँदैन भनेर व्यवस्था गरेकाले कांग्रेसले पनि प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्षमा जाने निर्णय गरिसकेको सुनाउनुभयो ।

नेता पौडेलले प्रम ओलीको असंवैधानिक निर्णय मान्न अदालत पनि बाध्य नभएकाले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र जोगाउने अधार अब अदालत मात्र भएकाले आफूहरूले न्यायमूर्तिहरूमाथि पूर्ण विश्वास राखेर प्रतिक्षा गरिरहेको बताउनुभयो ।

अदालतले प्रमको निर्णयलाई सदर ग-यो भने कांग्रेस चुनावमा जान्छ कि जाँदैन भन्ने पत्रकारको प्रश्नमा पौडेलले भन्नुभयो– ‘अदालतले आत्मघाती निर्णय सदर ग-यो भने नेपालमा जसले जति बेला जे पनि गर्न सक्छ । देश अफगानस्तान जस्तै हुन्छ, यसैले जे पनि गर्न दिन जनताले भोट किन हाल्ने ?’ चुनावका नाममा संविधान मास्न नपाइने नेता पौडेल बताउनुहुन्छ ।
अहिलेको अवस्थामा संसद् पुनःस्थापनाबाहेक अन्य कुनै विकल्प नरहेको उहाँको धारणा छ ।

अर्बौं रुपियाँ खर्च गरेर चुनाव गर्ने, सरकार ढल्ने अवस्था आए प्रतिनिधिसभा नै विघटन गर्ने हो भने सधैं चुनाव भइरहने र त्यसरी हुने चुनाव देशले नधान्ने उहाँले स्पष्ट पार्नुभयो । संविधानविपरीत चुनाव गर्दै जाने भए सधैं चुनावमात्रै गरिरहनुपर्ने अवस्था आउने पौडेलको भनाइ छ । चुनावका नाममा देशलाई अफगानिस्तानको बाटोमा लैजान खोजिएको पौडेलको आरोप छ । प्रतिनिधिसभा विघटनलाई केपी ओलीले राजनीतिक निर्णय भन्ने गरेको तर संविधानमै नभएको कुरा प्रधानमन्त्रीले गर्ने हो भने जसले जे गरे पनि हुने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्