सरकारी जग्गा हड्प्नेविरुद्ध मुद्दा



नेपाल समाचारपत्र, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलविरुद्ध मुद्दा दायर गरेको हो ।

यसैगरी अख्तियारले युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्यान्ड डेभलपर्स प्रालिका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपाल मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध कुल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपियाँ बिगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी र सार्वजनिक जग्गा युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नया“ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्