आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।