१ लाख ५० हजार घूस लिँदालिँदै सबइन्जिनियर समातिए



तनहुँ, (नेस)
घूस लिँदै गरेको अवस्थामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइन्जिनियर पक्राउ परेका छन् । कार्यान्वयन एकाइ (शिक्षा)का सबइन्जिनियर सुरेन्द्र अधिकारी व्यास नगरपालिका–२ मालपोत लाइनस्थित भिरकोट होटलमा १ लाख ५० हजार रुपियाँ घूस रकम लिँदै गर्दा पक्राउ परेका हुन् ।
१ लाख ५० हजार रुपियाँ घूस रकम लिँदै गर्दा अधिकारी समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । विद्यालयको शौचालय निर्माणपश्चात् अनुगमन गरेवापतको कमिसन रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय निर्माणको अनुगमन गरेवापतको कमिसन अधिकारीले लिने क्रममा डीएसपी थारु नेतृत्वको टोलीले पक्राउ गरेको हो । विद्यालयको शौचालय निर्माणका लागि आयोजना कार्यान्वयन एकाइले १४ लाख ६९ हजार रुपियाँ विनियोजन गरेको जनाइएको छ ।
जिल्लामा विकास योजना तथा निर्माण योजनाका कार्यहरु गर्दा कमिसन लिने तथा दिने र घूसको वार्गेनिङका क्रियाकलाप बढेको मालपोतलाइन क्षेत्रका स्थानीयबासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्