डेढ करोडसहित दुई पक्राउ



काठमाडौं, (नेस)
नेपाल प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपियाँसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार बिहान कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको हुन्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित दुई जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक संगम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनि विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
‘उक्त रकम भारतबाट भारतीय रुपियाँ ल्याई नेपालको सीमाक्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ।’ –प्रवक्ता विष्टले भन्नुभयो । उक्त घटनामा प्रयोग भएको सवारीसाधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्