राष्ट्रव्यापीरुपमा योग दिवस मनाउन मन्त्रीको निर्देशन



काठमाडौं, (नेस)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताउनुभएको छ । मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । बैठकले उपसमिति गठन गरी तत्काल आदर्श वाक्य तयारी गर्ने र मूल कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ । बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताउनुभएको छ । उहाँले छोटो र मिठोरुपमा मूल समारोह मनाउने गरी तयारी गरिने जानकारी दिनुभयो ।

बैठकमा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, योग शिक्षक डा. हरिप्रसाद पोखरेल, पतञ्जली योग पिठका ट्रस्टी ई. शालिकराम सिंहलगायत समितिका सदस्यले सबै स्थानीय तह, विद्यालयलगायत सबै निकायमा योग दिवस मनाउनुपर्ने बताउनुभयो ।

मन्त्रालयले प्रदेशस्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्राचार गर्ने, संघीय मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुम मार्फत योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रम रहेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले यो वर्षको योग दिवसलाई भव्यरुपमा मनाउने तयारी भइरहेको बताउनुभयो । भन्नुभयो– ‘सबै सरोकारवाला संस्थाको सहभागितामा राष्ट्रिय योग दिवस मनाउने तयारी गरेका छौं । मन्त्रालयले केही दिनभित्र आदर्श वाक्य तय गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्