कांग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

केन्द्रदेखि वडा तहसम्म आन्दोलन



मधुसूदन रायमाझी, काठमाडौं

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले केन्द्रदेखि वडा तहसम्म आन्दोलनको घोषणा गरेको हो । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।

पार्टीका शीर्ष तहमा भएको सहमतिअनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय भएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आफू आन्दोलनकै पक्षमा रहेको बताउनुभयो ।

देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले भन्नुभयो– ‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध अब आन्दोलनको विकल्प छैन, म आन्दोलनकै पक्षमा छु, आन्दोलनलाई थप सशक्त बनाएर लैजानुको विकल्प छैन ।’

केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष तहमा आन्दोलनको विषयमा लामो छलफल भएको थियो । शीर्ष तहमा भएको समझदारीअनुसार केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई आन्दोलनबाटै ठेगान लगाउनुपर्ने बताउनुभएको थियो ।

पौडेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘प्रधानमन्त्री ओली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि नै सकाउने खेलमा लागेका छन्, लोकतन्त्रको रक्षा गर्न देशव्यापीरुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता आइलाग्यो ।’

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले माघ ३ गते ७ सय ५३ पालिकामा, माघ ८ गते ६ हजार ७ सय ४३ वडामा प्रतिनिधिसभा विघटनको विरोध प्रदर्शन गर्ने निर्णय भएको बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको बताउँदै शर्माले कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको बताउनुभयो ।

बैठकले महाधिवेशनका सन्दर्भमा अन्तरपार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । यसअघि मंसिर मसान्तलाई तोकिएको क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश लोकतान्त्रिक मूल्य, मान्यताविपरीत भएको दोहो¥याएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य भएको निष्कर्ष निकालेको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटनकै दिन पार्टी पदाधिकारीको बैठकले सरकारको कदमको विरोध गर्ने जनाएको थियो । पुस ७ गते केन्द्रीय कार्यसमिति बैठकले पहिलो चरणमा पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन कार्यक्रम गरेको थियो ।

‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रस्ट धारणासहित कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ।’ –प्रवक्ता शर्माले भन्नुभयो ।

आइतबारको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक पुस २७ गते पुनः बस्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्