प्रहरीलाई नक्कली कपडा भिडाउने पक्राउ



काठमाडौं, (नेस)
नेपाल प्रहरीले प्रयोग गर्ने उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्ने सम्झौताबमोजिम टेक्सटाइल्स इन्डस्ट्रिज प्रालि बहुअरी वीरगन्जले नक्कली सामान भिडाउन जालसाजी गरेको पाइएपछि त्यसका सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा नेपाल प्रहरीले २० हजार मिटर उलनको पाइन्टको कपडा खरिदका लागि बोलपत्र आह्वान गरेकामा सो कम्पनीले उक्त कपडा आपूर्ति गर्न २ करोड १६ लाख ४० हजारमा उपलब्ध गराउने सम्झौता गरेको थियो ।
नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले उक्त कम्पनीसँग प्रतिमिटर १ हजार ८२ रुपियाँमा उक्त कपडा लिने सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएबमोजिमको कपडा आपूर्ति नभएको आशंकामा कपडा आपूर्तिकर्ताका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहबरमा प्रहरीले गत साउन ३० गते सो कम्पनीले आपूर्ति गरेको कपडा भारतको चेन्नाईमा रहेको एसजीएसमा पठाएको थियो ।
सो कम्पनीले आपूर्ति गरेको कपडा सम्झौताबमोजिम नभएपछि आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि पौडेलले गत साउन ३२ गते नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको मोबाइल नम्बर राखेर प्रहरीले दुई दिनअघि परीक्षण गर्न पठाएको एसजीएस ल्याबमा आफूखुसी दोस्रो नमुना पठाएर प्रहरी संगठनलाई बदनाम गराउन खोजेको भन्दै सीआईबीले कम्पनीका मालिक पीताम्बरकुमार मुन्का र आधिकारिक प्रतिनिधि पौडेललाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।
उनीहरुले चेन्नाईमा रहेको ल्याबलाई समेत प्रभावित पार्न खोजेको ब्युरोले जनाएको छ । सुरक्षा निकायभित्र लत्ताकपडा आपूर्ति गर्ने अधिकांश ठेकेदारले सम्झौता एउटा गर्ने र सामान कमसलखालको उपलब्ध गराउने यो पुरानो प्रचलन नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्