उपमन्त्री गुओ काठमाडौंमा, प्रचण्डपछि मात्र ओलीलाई भेट्ने



काठमाडौं, (नेस)

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचैको नेतृत्वमा चार सदस्यीय उच्चस्तरीय भ्रमण टोली आइतबार काठमाडौं आइपुगेको छ । एयर चाइनाको विशेष विमानबाट उक्त टोली काठमाडौं आइपुगेको हो ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि त्यसबारे छलफल गर्न उपमन्त्री गुओको नेतृत्वमा उक्त टोली काठमाडौं आइपुगेको हो । सो टोलीले दुवै पक्षका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गर्ने भएको छ ।

चिनियाँ नेताहरुको भ्रमणका बारेमा सरकारले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन भने दुवै पक्षका नेताहरुले समेत केही बताएका छैनन् । नेपालमा नेकपा विभाजन भएपछि भारत र चीनले नेपालको विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको भए पनि चिनियाँ राष्ट्रपति सी जिङपिङले भने आफ्नो स्पष्ट सन्देश दिएर नेपाल पठाउनुभएको हो ।

नेकपा विभाजन भएपछि नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले नेकपाका सबै शीर्ष नेतालाई भेटेर विकसित राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिनुभएको थियो भने चीनको सन्देश पनि सुनाउनुभएको थियो ।आज सोमबारबाट चिनियाँ प्रतिनिधि मण्डलले भेटघाट शुरु गर्ने भएको छ । सोमबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई भेट्ने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।

(६)

प्रतिक्रिया दिनुहोस्