नेपाल–भारत भ्रमण हल्ला मात्र



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका गृहमन्त्री अमित शाहले एक–आपसका मुलुकको भ्रमण गर्ने भनी मिडियामा सार्वजनिक भएको समाचार हल्ला मात्र सावित भएको छ । ‘प्रधानमन्त्रीले देश छोड्ने अवस्था छैन, भ्रमणको कुरा चलेको हो तर अहिलेको परिस्थितिमा सम्भव देखिएन।’ –गत बिहीबार समाचार सम्प्रेषण गर्ने बालुवाटारस्थित अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी गराए ।

‘एक महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाली पक्षलाई भारत भ्रमणको निम्तो दिएको, तर नेपालले आजसम्म त्यस प्रकारको भ्रमणको तिथि प्रस्ताव गरेर भारतलाई जानकारी नगराएको अवस्था नै दुई मुलुकबीचको भ्रमणको अद्यावधिक जानकारी हो’, परराष्ट्र मामिलाको विश्वस्त स्रोतले जानकारी गरायो– ‘अस्थिर राजनीतिक अवस्थामा सरकारका उच्चपदस्थ व्यक्तिको भ्रमणको सम्भावना नै हुँदैन, भ्रमणको हल्ला पिटाएर कसले के लाभ लिन खोजिरहेको छ, हामीलाई आश्चर्य लागेको छ ।’

समाचार स्रोतले ‘हल्लाका समाचारको खण्डनका लागि के परिचय दिने’ भन्दै ‘अफ द रेकर्ड’का लागि आग्रह ग-यो । यसै सम्बन्धमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘तपाईंहरुले प्रधानमन्त्रीलाई भारत पठाउनुहुने भएछ, खै मलाई त केही थाहा छैन’ भनेर व्यंग्य गर्नुभयो । शुक्रबार प्रकाशित समाचारमा प्रधानमन्त्री ओली २० पुसमा भारत जाने र त्यसकै तयारीका लागि परराष्ट्रमन्त्री ज्ञवालीले १८ पुसमा नयाँदिल्लीको यात्रा गर्ने विवरण बालुवाटार सूत्रको हबाला दिँदै प्रकाशित भएको थियो ।

‘हामी सही जानकारी दिन तयार छौं, एक कल फोन गरेर प्रमाणीकरण गरेर समाचार प्रकाशित गर्न साथीहरु किन गाह्रो मान्छन्।’ –पत्रकारितामा लामो समय बिताएका प्रेस सल्लाहकार थापाले क्षोभ पोख्नुभयो ।  गत मंसिर १२ गते भारतीय विदेश सचिव शृंगलाको नेपाल भ्रमणले केही समययता चिसिएको नेपाल–भारत सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको तर दुई देशबीच सम्बन्ध कमजोर भएको हेर्न चाहने अस्थिरतावादी तत्वले भ्रमणका गलत समाचार सम्प्रेषण गरेको हुन सक्ने परराष्ट्र मन्त्रालयस्थित स्रोतको धारणा छ ।

भारतीय विदेश सचिव शृंगलाले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र नेपाली समकक्षीसँगको भेटघाट र कुराकानी निकै उपलव्धिमूलक भएको धारणा राख्नुभएको थियो । दुईदिने भ्रमणको समाप्तिका क्रममा उहाँले नेपालीमै सम्बोधन गर्दै आफ्नो यात्रा ‘धेरै राम्रो भयो, एकदमै प्रोडक्टिभ मिटिङहरु भए’ भन्नुभएको थियो ।

पछिल्लोपटक केही मिडियामा भारतका गृहमन्त्री अमित शाह शनिबारै नेपाल आउने समाचार प्रकाशमा आएका छन् । तर, यस समाचारलाई सरोकारवाला कुनै पनि निकायले पुष्टि गरेनन् ।

प्रतिक्रिया दिनुहोस्