बैतडीको विजयी शुरुवात



विनोद सिंह विष्ट, बैतडी ।

खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनले बैतडीले प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा विजयी शुरुवात गरेको छ । बझाङलाई ७ विकेटले स्तब्ध पार्दै बैतडीले विजयी शुरुवात गरेको हो ।

बझाङले दिएको १ सय ५१ रनको लक्ष्य बैतडीले १९ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । बैतडीका लागि वीरेन्द्र नाथले अविजित ४० रनको योगदान गरे । यस्तै डम्बर बुडाल र गजेन्द्र बोहराले पनि पनि समान ३०/३० रन जोडे । बझाङका लागि गोविन्द विष्टले २ विकेट हात पारे ।

त्यसअघि, कञ्चनपुरस्थित कभर्डहल मैदानमा पहिला ब्याटिङ गरेको बझाङ १ सय ५० रनमा समेटिएको थियो । टिमका लागि दिनेश ओडले सर्वाधिक ३५ रनको योगदान गरे । बैतडीका लागि खडक बोहराले ५ विकेट हात पारे । उनी ‘म्यान अफ द म्याच’ समेत चुनिए ।
यस्तै, अर्को खेलमा कैलालीले दार्चुलालाई १ सय १७ रनले पराजित गरेको छ । कैलालीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको दार्चुला ४४ रनमा अलआउट भयो । दार्चुलाका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कैलालीका शेर मल्लले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, खुलामञ्च खेलमैदानमा पहिला ब्याटिङ गरेको कैलाली २९ दशमलव १ ओभरमा १६१ रनमा समेटियो । उसका लागि दीपेन्द्र थापाले ४२ तथा वसन्त कार्कीले ३९ रन हिर्काए । दार्चुलाका लागि राज बम, विपिन धामी, करण डडाल, जनक बडाल र वीरेन्द्र बमले समान २/२ विकेट लिए । कैलालीका दीपेन्द्र थापा ‘म्यान अफ द म्याच’ भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्