प्रिन्स क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
सिल्क ग्रुपका प्रिन्स दाहाल ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’को राष्ट्रियस्तरीय पुरुष एकलको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको खेलमा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल अन्तिम आठमा प्रवेश गरेका हुन् । प्रिन्सले अर्को खेलमा सेनाक पविन लिनथेपसँगको भेट पक्का गरेका छन् । पविन रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।
नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङलाई २१–१३, २१–१० ले पराजित गर्दै अन्तिम आठमा सेनाका रत्नजित तामाङसँग भेट पक्का गरे । रत्नजित वाई पाएर सीधै अर्को चरणमा पुगेका थिए ।
अन्य खेलमा सेनाका प्रफुल्ल महर्जन, नवीन श्रेष्ठ र रुकेश महर्जन तथा एपिएफका साजन कृष्ण ताम्राकारले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे । प्रफुल्लले रुपन्देहीका डेभिड थापामगरमाथि २१–१२, २१–११ ले, नवीनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीमाथि २१–१७, २१–१४ ले, रुकेशले सेनाकै आयुष्मान नागरीमाथि २१–१८, २१–१६ र साजनले एपिएफका निरञ्जन देवकोटामाथि २१–९, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको प्रतियोगिता रेफ्री किरण कारञ्जितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्