रियल मेड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा



लन्डन, (एजेन्सी)
यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सबैभन्दा सफल टोली रियल मेड्रिड जारी सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा रियल आफ्नो घरेलु मैदानमा जर्मन क्लब मोन्चेङ्लाडवाचलाई २–० ले हराएर नकआउट चरणमा प्रवेश गरेको हो । पाहुना टोलीमाथि निर्णायक खेलमा एकपक्षीय जित निकाल्दा करिम बेन्जेमाले हेडिङमार्फत पहिलो हाफमै दुई गोल गरेका थिए । उनले खेलको नवौं मिनेटमै लुकास भासक्वेजले मैदानको तल्लो भागबाट गरेको क्रसमा हेडिङमार्फत् बललाई जाली चुमाए । त्यसपछि खेलको ३१औं मिनेटमा ब्राजिलियन रोड्रिगोएजको क्रसमा उनले हेडिङमार्फत नै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
रियलका लागि अन्तिम खेल जित्दा मात्रै अन्तिम १६ मा जाने अवस्था थियो । त्यसअघि युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग दुवै खेल हारेपछि रियल समूह चरणबाटै बाहिरिने खतरामा थियो । तर, अन्तिम खेलमा रियलले कुनै गल्ती नगरी नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यो जितपछि रियल ६ खेलबाट १० अंक जोडेर समूह ‘बी’ को विजेता बनेर नकआउटमा पुग्यो । रियलसँग पराजित मोन्चेङ्लाडवाच पनि ८ अंकका साथ उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस समूहमा युक्रेनको क्लब शाख्तार डोनत्सकले तेस्रो स्थानमा रहेर युरोपा लिगको समूह चरणमा प्रवेश पायो भने इटालियन सिरी ए क्लब इन्टर मिलान समूह चरणबाटै बाहिरिएको छ । एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको मिलानका लागि यसपटक युरोपियन प्रतियोगिताको यात्रा अपेक्षा गरिएभन्दा चाँडै नै समाप्त भएको हो । इन्टर समूह चरणबाटै खराब स्थितिबाट बाहिरियो, जसका कारण इन्टरले यसपटक युरोपा लिगसमेत गुमाउनुपरेको छ ।
समूह चरणको अन्तिम खेलमा शाख्तर डोनेट्स्कसँग गोलरहित बराबरीमा रोकिएपछि इन्टरको अन्तिम १६ मा यात्रामा पूर्णविराम लाग्नुका साथै युरोपा लिगको समूह चरणमा समेत प्रवेश पाउनबाट वञ्चित भयो । कम्तीमा पनि युरोपा लिगको समूह चरणमा प्रवेश पाउन इन्टरलाई शाख्तरसँग स्पष्ट जित आवश्यक थियो । तर, आफ्नै घरेलु मैदानमा शाख्तरसँग बराबरीको नतिजापछि युरोपा लिगका लागि समेत छनोट हुन सकेन ।
च्याम्पियन्स लिगमा समूह चरणमा पहिलो र दोस्रो स्थानका टोलीले अन्तिम १६ मा स्थान पाउँछन् भने तेस्रो स्थानमा रहने टोलीले युरोपा लिगको समूह चरणमा प्रवेश पाउने प्रावधान रहेको छ । तर, समूह ‘बी’ मा रहेको इन्टर ६ खेलबाट मात्रै ६ अंक बनाएर चौथो स्थानमा रह्यो । इन्टरले एक खेल जित्यो भने दुई खेलमा हार र तीन खेल बराबरीको नतिजा निकाल्यो ।
यस्तै, अस्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई २–० ले हराउँदै अर्को स्पेनिस क्लब एथ्लेटिको मेड्रिड पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्यो । अवे मैदानमा टिमलाई जिताउन खेलको ३९औं मिनेटमा मारियो हेर्मोसोले पहिलो गोल र ८६औं मिनेटमा यानिक कारास्कोले दोस्रो गोल गरेका थिए ।
समूहको अन्तिम खेलमा जितसँगै एथ्लेटिको ९ अंक जोडेर समूह ‘ए’ मा उपविजेता बनेको हो । यो समूहबाट जर्मन क्लब बार्यन म्युनिखले १६ अंकसहित विजेता बनेर चौथो खेलबाटै अर्को चरण प्रवेश पाएको थियो ।

पीएसजीको फराकिलो जित
स्टार खेलाडीद्वय नेयमार र केलियन एम्बाप्पेले समग्रमा ५ गोल गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले आफ्नो घरेलु मैदानमा पाहुना टोली इस्तानबुल बासाकसेहिरमाथि ५–१ गोल अन्तरको जित निकालेको थियो । घरेलु टिमलाई जिताउनेक्रममा ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक गरे भने एम्बाप्पेले दुई गोलको योगदान गरे ।
पीएसजीका लागि खेलको २१औं मिनेटमा नेयमारले डीबक्स बाहिरबाट कडा प्रहारमा पहिलो गोल गरेका थिए । त्यसपछि ३८औं मिनेटमा नेयेमारले नै व्यक्तिगत दोस्रो गोल गरे । यसपटक उनले पोस्ट नजिकैबाट हानेको प्रहारले गोलकिपरको खुट्टामा लाग्दै पोस्टको दिशा लिएको थियो । खेलको ४२औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । जसमा एम्बाप्पेले प्रहार गर्दै गोल गर्न सफल भए । सो गोलपछि पिएसजीले पहिलो हाफमै ३–० को सहज अग्रता बनायो ।
यसैगरी, खेलको ५०औं मिनेटमा नेयेमारले डीबक्स बाहिरबाट शक्तिशाली सटमा शानदार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । तर, खेलको ५७औं मिनेटमा इस्तानबुलका लागि मेहेमट टोपालले गोल गरेर खेल ४–१ को स्थितिमा ल्याए । खेलको ६२औं मिनेटमा एम्बाप्पेले अर्को सुन्दर गोल गरेपछि खेल पिएसजीले ५–१ ले जित्यो । उक्त गोलसँगै एमबाप्पेले च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्डसमेत बनाएका छन् ।
इस्तानबुलविरुद्ध दुई गोल गरेपछि एमबाप्पे यस प्रतियोगितामा सबैभन्दा कम उमेरमा २० गोल पूरा गर्ने खेलाडीसमेत बनेका छन् । हाल २१ वर्षका एम्बाप्पेले यस प्रतियोगितामा ४१ खेल खेलेर कुल २१ गोल गरेका छन् । यसअघि यो रेकर्ड स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेसीका नाममा थियो । यो जितपछि पिएसजी १२ अंकसहित समूह ‘एच’को विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । त्यस्तै, जर्मन क्लब आरबी लेइप्जिग पनि १२ अंक नै बनाएर उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । यस समूहबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भने तेस्रो स्थानमा रहेर युरोपा लिगको समूह चरणमा प्रवेश पाएको छ ।

आयक्स बाहिरियो
नेदरल्यान्ड्सको आयाक्स क्लब पनि यस सिजनको च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको छैटौं खेलमा आफ्नै घरेलु मैदानमा इटालियन सिरी क्लब एटलान्टासँग १–० ले हारेपछि आयाक्सको यात्रामा पूर्णविराम लागेको हो । दुई सिजनअघि आयाक्स सेमिफाइनलसम्म पुगेको थियो । अन्तिम १६ मा पुग्न आयाक्सले एटलान्टालाई हराउनुपर्ने समीकरण बनेको थियो । तर, निर्णायक खेलमा साँघुरो गोलअन्तरले पराजित हुँदा यसपटक आयाक्सले च्याम्पियन्स लिगमा लामो यात्रा तय गर्न सकेन ।
बुधबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुल मिड्ज्याल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो । यो नतिजासँगै समूह ‘डी’ बाट लिभरपुल कुल १३ अंकसहित समूह विजेता बनेर अन्तिम १६ मा पुग्दा एट्लान्टा ११ अंकसहित उपविजेता बन्यो । ७ अंक जोडेको आयाक्सले भने तेस्रो स्थानमा रहेर युरोपा लिगको समूह चरणमा प्रवेश पाएको छ ।
अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले भने समूह चरणको अन्तिम खेलमा सहज जित निकाल्यो । आफ्नो घरेलु मैदानमा सिटीले पाहुना टोली फ्रेन्च क्लब मार्सेइल्लीविरुद्ध ३–० को जित निकालेको थियो । सिटीको तीनमध्ये एक गोल आत्मघाती उपहारमा पाएको थियो । सिटीका लागि खेलको ४८औं मिनेटमा युवा स्टार फेर्रान टोरेजले पहिलो गोल गरेका थिए । त्यसपछि दोस्रो गोल ७७औं मिनेटमा सर्जियो अगुएरोले गर्दा ९०औं मिनेटमा सिटीले आत्मघाती गोल उपहार पायो । मार्सेइल्लीका अल्भारो गोन्जालेजले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेल ३–० ले जित्यो ।
सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोले ग्रिसको ओलम्पियाकोसलाई उसैको घरेलु मैदानमा २–० ले हराएर अन्तिम १६ मा स्थान सुरक्षित ग¥यो । सिटी १६ अंकका साथ समूह ‘सी’ को विजेता बनेर अन्तिम १६ मा पुग्दा पोर्टो पनि १३ अंकका साथ नकआउट चरणमा पुगेको हो । यस समूहबाट पोर्टोसँग पराजित ओलम्पियाकोसले भने तेस्रो स्थानमा रहेर युरोपा लिगको समूह चरणमा प्रवेश पाएको छ ।

प्रतिक्रिया दिनुहोस्