राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरू एउटै कृतिमा



काठमाडौं, (नेस)

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि शुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म निरन्तर चलिरहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा २०४६ सालसम्म राजाबाट दिइएको शीर्षकमा कविहरूबाट कविता सिर्जना गरी प्रतिस्पर्धा गराउने प्रचलन थियो भने २०४७ पछि तोकिएको विषय र शब्दसङ्ख्यामा कविहरूका स्वतन्त्र कविताको प्रतिस्पर्धा हुँदै आएको छ ।

राष्ट्रिय कविता महोत्सवमा २०२२ देखि २०४६ सालसम्म पुरस्कृत सम्पूर्ण कवितालाई प्रज्ञा–प्रतिष्ठानले ‘कविता महोत्सव ः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकेको छ । त्यसपछिका पुरस्कृत कवितालाई प्राडा हेमनाथ पौडेल, डा. देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव ः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

२०४६ देखि २०७६ सम्मका तीस वर्षमध्येमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् नभएका कारण २०६३–२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन नसकेको हुनाले बाँकी पच्चीस वर्षमा पुरस्कृत १ सय २५ जना कविहरूका १ सय २५ ओटा कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको जानकारी काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्राज्ञ प्राडा हेमनाथ पौडेलले दिनुभएको छ ।

उहाँले भन्नुभयो– ‘पुरस्कृत कविताहरू त्यस वर्ष सहभागी भएका कवितामध्येमा सर्वोत्कृष्ट रचनाहरू हुन् । कविताका जिज्ञासुहरूलाई कुन वर्ष कस्ता कविताहरू पुरस्कृत भएछन् भन्ने बारेमा चासो जाग्नु स्वाभाविक हो । त्यही कुरालाई ध्यानमा राखेर पुरस्कृत कविताहरूलाई एउटै सङ्ग्रहमा ल्याउन लागिएको हो ।’

उक्त कृतिमा पुरस्कृत कवि र कविताहरूका साथमा राष्ट्रिय कविता महोत्सवको समग्र इतिहाससमेत समेटिने कुराको जानकारी अर्का सम्पादक प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले भन्नुभयो– ‘यस कृतिमा प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवको समग्र शब्दचित्र आउनेछ, जसले कविताका पाठकहरूलाई ऐतिहासिक सूचना र कवितात्मक आनन्द दुवै प्रदान गर्नेछ ।’

सधैं असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव यस वर्ष भने कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण स्थगित भएको थियो । उक्त महोत्सव यही मङ्सिर २९ गते भौतिक दूरी कायम गरी प्रज्ञा–प्रतिष्ठानमा नै सम्पन्न गरिने र यही महोत्सवमा उक्त कृति पनि पाठकसम्म पु¥याउने लक्ष्यका साथ प्रतिष्ठानले काम गरिरहेको जानकारी कृतिका अर्का सम्पादक तथा सञ्चार विभाग प्रमुख प्राज्ञ शशी लुमुम्बुले दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्