जुनीचाँदेले दियो तीन वर्षपछि गाउँबाटै सेवा



वासुदेव शर्मा, जाजरकोट

जाजरकोटकाे जुनीचाँदे गाउँपालिकाले गाउँबाटै सेवा प्रवाह गरेको छ । प्रशासनिक केन्द्र विवादका कारण जिल्ला सदरमुकाम जाजरकोट खलंगाबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले मझकोट परालेबाट सेवा दिन थालेको छ ।

सिंहदरवारको अधिकार गाउँमै आए पनि नागरिकको घरदैलोसम्म पु¥याउन स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव तीन वर्ष ६ महिनापछि जिल्ला सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको मझकोट परालेमा स्थापना गरेको केन्द्रबाट सेवा सुचारु गरेको जुनीचाँदे गाउँपालिकाले जनाएको छ ।

जुनीचाँदे गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जिल्ला सदरमुकाम खलंगाबाट नागरिकलाई सेवा दिनु रहर नभएर बाध्यता भएको बताउँदै प्रशासनिक केन्द्र विवाद हुँदा सर्वोच्च अदालतमा पुगेकोले तत्काल कार्य सम्पादनका लागि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको स्थान मझकोटको परालेबाट अस्थायी रूपमा भए पनि नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन सेवा प्रवाह गर्न लागेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष आचार्यले बताउनुभयो ।

बैंकिङ कारोबारबाहेक नागरिकलाई स्थानीय सरकारको अनुभूति दिनका लागि राजपत्रमा प्रकाशित अस्थायी केन्द्र जुनीचाँदे गाउँपालिका मझकोटको परालेबाट सेवा प्रवाह गर्न लागेको कार्यवाहक अध्यक्ष आचार्यको भनाइ छ ।

नागरिकलाई केन्द्रिकृत सेवा प्रदान गरी सिंहदरबारको अधिकार गाउँबाट प्रवाह गर्नका लागि प्रहरी चौकी नभएको सरकारले तोकेको अस्थायी केन्द्रबाटै सेवा प्रवाह गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो सुरक्षाको व्यवस्था नभएकोले अस्थायी प्रहरी चौकी स्थापनाको प्रक्रियालाई अगाडि बढाएका छौँ,’ प्रहरी चौकी स्थापना भएलगतै कृषि विकास बैकले मझकोटको परालेमा शाखा विस्तार गर्ने तयारी गरेको छ ।
जुनीचाँदेमा स्थापना हुने बंैकका शाखा मेनेजर सरुवा भएर गएपछि दरबन्दी रिक्त रहेकोले केही दिनभित्र मेनेजरको दरबन्दी पूर्ति हुने कृषि विकास बैंक जाजरकोटले जानकारी दिएको छ ।

नागरिकलाई परिवर्तनको अनुभूति दिने जिम्मेवारी जनप्रतिनिधिको भएकोले विकास प्रति राखेको चासो स्थानीय सरकारबाट नागरिकले गरेको अपेक्षा नेपालमा भएको परिवर्तन र व्यवस्थाप्रति उत्तरदायी बन्नुपर्ने कार्यवाहक अध्यक्ष आचार्यले बताउनुभयो । वर्तमान अवस्थामा मुख्य समस्याका रूपमा देखिएका विकासको गति गरिबीलगायत पछौटेपनको व्यवस्थापन नगरी विभेदको अन्त्य नहुने उहाँको भनाइ छ ।

महिला बालबालिका ज्येष्ठ नागरिक अपांग, दलित जनजाति, विपन्न वर्ग समुदायमा पछाडि परेका नागरिकलाई शिक्षा स्वास्थ्यका माध्यमबाट क्षमता विकास गरे सामाजिक परिवर्तन हुने भएकोले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नागरिकको घरनजिकैको सरकार स्थानीय सरकार भएकोले नागरिकलाई घर आँगनबाट सेवा दिनको लागि प्रशासनिक केन्द्र सदरमुकामबाट गाउँकै केन्द्रबाट दिन लागेको उहाँले बताउनुभयो । नागरिकको आर्थिक सामाजिक अवस्थालगायत विकास योजना निर्माणमा सुधार ल्याउने भएकोले गाउँबाटै सेवा प्रवाह गर्न लागेको कार्यवाहक अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्