गौतम बुद्ध रंगशालामा ‘गौतम बुद्ध’ कप हुने



काठमाडौं, (नेस)

चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा यही मंसिरमा गौतम बुद्ध कप प्रतियोगिता आयोजना हुने भएको छ ।

शनिबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वागमती प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता गर्न लागेको हो ।

आयोजकको अनुसार कोरोना भाइरसका कारण पछिल्ला ९ महिनादेखि नेपालमा कुनै क्रिकेट भइरहेको छैन । क्रिकेटको गतिविधि फर्काउने योजनाका साथ वागमती क्रिकेट प्रदेश क्रिकेट संघको आयोजनामा सो प्रतियोगिता हुन गइरहेको छ ।

यही मंसिर २७ गतेदेखि सुरु हुने प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले खेल्नेछन् । हाल बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा क्रिकेटका नाम चलेका खेलाडीसहितको तीन टिमले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

मंसिर ३० गतेसम्म आयोजना हुने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ । प्रतियोगिताको फरम्याटबारे भने केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्