कांग्रेस भ्रष्टाचारविरुद्धको अभियानमा



नेपाल समाचारपत्र, संखुवासभा

नेपाली कांग्रेस नेता एवं पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले संखुवासभा जिल्लामा भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्ने बताउनुभएको छ । बुधबार जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले युक्त कुरा बताउनुभएको हो ।

नेपाल एसियाकै भ्रष्टाचारमा पहिलो मुुलुक बनेको र जिल्लाका स्थानीय तहमा पनि भ्रष्टाचार बढेको जनताको गुनासो आएकाले कांग्रेसले जिल्लामा अभियान शुरु गर्न लागेको उहाँको भनाइ छ ।

एमेनेस्टी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनमा नेपाल एसियाकै भ्रष्टाचारमा पहिलो मुुलुक बन्न पुगेकोमा नेपाली जनताका लागि लज्जास्पद कुरा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खड्काको मागसमेत छ ।

सरकारकै कारण चीनसँग नाका जोड्ने संखुवासभाको किमांथांकासम्म पुग्ने जोगवनी किंमाथांका कोशी राजमार्ग अलपत्र अवस्थामा रहेको उहाँको आरोप छ । खड्काले अर्को प्रसंगमा नेपाली कांग्रेस कुनै पनि हालतमा सरकारमा नजाने र पार्टीको महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति दिपन श्रेष्ठले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएकाले जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरी जिल्लाका १० स्थानीय तहमा खबरदारी र भ्रष्टाचारविरुद्ध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्