ट्राफिक लाइट नमान्नेलाई अनलाइन कक्षा लिँदै ट्राफिक प्रहरी



काठमाडौं, (नेस)
के तपाईं ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नुपर्ला है ।
ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुआत गरेको छ ।
लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले चालकलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकाले त्यस्ता चालकका लागि घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताउनुभयो ।
उहाँले रातो बत्तीमा समेत गाडी हुइँक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जामसमेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिनुभयो ।
लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।
यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिँदै आएकोमा अबदेखि ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।
हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाइटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ । सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसाथ गर्दै ट्राफिक लाइट भएका त्यस्ता चोकहरुमा चालक र पैदलयात्रीले ट्राफिक बत्तीको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउने दाबी ट्राफिक प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्