रेडक्रसले दियो धनगढी अस्पताललाई स्वास्थ्य सामग्री



नेपाल समाचारपत्र, काठमाडौं

कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, स्वयंसेवकलगायतको सुरक्षाका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा एक कार्यक्रम गरी सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई सोमबार हस्तान्तरण गरिएको छ ।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई कोकाकोला र रेडक्रसका प्रतिनिधिले सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रेडक्रसले सरकारलाई सहयोग गरेको भन्दै निष्पक्षतालाई ध्यानमा राखेर थप सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीयस्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पीताम्बर अर्यालले कोरोना संक्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको सुरक्षा र बिरामीको सघन उपचारमा मद्दत पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री अस्पताललाई दिइएको बताउनुभयो ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० को आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २ हजार ५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन–९५ मास्क २ सय थान र २५ थान सुरक्षा चस्मा रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । ती सामग्रीको जम्मा मूल्य १८ लाख ५१ हजार १ सय रहेको छ ।

यसअघि पनि रेडक्रसले असारमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्