जुद्ध वारुण यन्त्र भक्तपुरको भवन शिलान्यास



नेपाल समाचारपत्र, भक्तपुर

भक्तपुरको दूधपाटीमा रहेको जुद्ध वारुण यन्त्र कार्यालयको भवन शिलान्यास गरिएको छ । भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक श्यामकिशोर सिंह, जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख सुरज निरौलाले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।

भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछापसम्म पुगेर जुद्ध वारुण यन्त्र भक्तपुरले सेवा दिने गरेको छ ।

भवन शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विभिन्न चुनौतीका बाबजुद पनि कार्यालयले विपद्का समयमा चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिँदै आइरहेका बताउनुभयो ।

कार्यालयमा स्रोतसाधनको अभावका बाबजुद पनि लामो समयदेखि सेवा दिँदै आइरहेको जुद्धलाई दिगो बनाउन अब बन्ने नयाँ भवनले सहयोग गर्ने उहाँको कथन छ ।

६ करोड २६ लाख ४९ हजार ८ सय ११ रुपियाँमा बन्न लागेको सो भवन ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी एउटा साढे दुई तले र अर्को तीन तले बन्नेछ । दुवै भवनमा ४–४ वटा फायर ब्रिगेड गाडी अट्ने ठाउँ, सभाहल र कर्मचारीका लागि बस्ने कक्षको निर्माण हुने भएको छ ।

कार्यक्रममा कार्यालय प्रमुख सुरज निरौला, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक श्यामकिशोर सिंह, जिल्ला आयोजना कार्यान्वयन एकाइका भवनका प्रमुख महालक्ष्मी जोशीलगायतले कार्यक्रममा जुद्ध वारुण यन्त्र भक्तपुरको संरक्षण र विकासमा सबैको जिम्मेवारी भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट पहल कदमी गर्नुपर्ने बताउनुभएको थियो ।

त्यसै गरी, सो अवसरमा हेवी सवारी चालक तथा प्रशिक्षकसमेत रहनुभएका सशस्त्र प्रहरी हवल्दार उत्तरबहादुर खड्कालाई कार्यालयका तर्फबाट सम्मान गरिएको थियो । १६ वर्षदेखि सशस्त्र प्रहरीमा कार्यरत हवल्दार खड्का दोलखा जिरी जिल्ला निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्