पीएसजीका लागि नेमारको ५० गोल



पेरिस, (एजेन्सी)
फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारले पीएसजीको जर्सीमा ५० गोल पुरा गरेका छन् ।
पार्क दि प्रिन्सेसमा शनिबार राति भएको बोर्डेअक्सविरुद्धको खेलमा ब्राजिली स्ट्राइकरले २७औं मिनेटमा गोल गरेपछि फ्रेन्च वान लिगमा उनको ५० गोल भएको हो । उनी बार्सिलोनाबाट महगो रकममा पेरिसमा २०१७ मा अनुबन्ध भएका थिए । उनको गोल बावजुद सो खेलमा पीएसजीले २–२ गोलको बराबरीमा चित्त बुझाउनु परेको थियो ।
खेलकोे १०औं मिनेटमा १८ वर्षीय युवा खेलाडी टिमोथी पेम्बेलेको आत्मघाती गोलबाट घरेलु टिम पीएसजी पछि परेको थियो । कर्नर प्रहारमा विपक्षीका जोस माजासँगैं उफ्रेका पेम्बेलेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । उनको यो पहिलो सिनियर खेल थियो । तर २७औं मिनेटमा नेमारले पेनाल्टीमार्फत गोल गर्दै हिसाबकिताब बराबर गरे ।
पेनाल्टी बक्समा हाटेम बीन अर्फाले नेमारलाई लडाएपछि पीएसजीले पेनाल्टी अपिल गरेपनि रेफ्रीले वास्ता गरेनन् । तर दुई मिनेटपछि रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी प्रदान गर्दा पीएसजी बराबरीमा आउन सफल भयो । यसको एक मिनेटपछि मोइस किनले गोल गर्दै पीएसजीको अग्रता २–१ मा राखे । पेनाल्टी बक्सबाहिरको नेमारको शक्तिशाली प्रहार गोलरक्षकलाई लाग्दै रिबाउन्ड भएको बललाई किनले जाली चुमाएका थिए ।
पहिलो हाफमा खलनायक बनेका बेन अर्फाको पासमा यासिन एड्लीले ६०औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा दुबै टिम एक–एक अंक बाँड्न बाध्य भएका थिए । १२ खेल खेलेको पीएसजी २५ अंक जोडेर शीर्षस्थानमा यथावत छ । बोर्डेअक्स १६ अंकसहित ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्