एक वर्षपछि १३औं सागको खर्च विवरण सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं

गत वर्ष मंसीरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण झण्डै एक वर्षपछि सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार पत्रकार सम्मेलन गरी १३औं सागको खर्च विवरण खुलाएको हो । यसअघि राखेप सदस्य सचिव रमेश कुमार सिलवालले प्रतियोगिता सम्पन्न भएको ९० दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने अठोट गरेका थिए । उनले जनाएअनुसार तीन वटै आयोजक स्थानको हिसाबकिताब समयमा नआएको र कोरोना महामारीको कारण ढिला भएको हो ।

करिब १ वर्ष ढिलो आएको खर्च विवरण अनुसार १३औं सागमा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया खर्च भएको छ । सिलवालको अनुसार पुर्वाधार निर्माणतर्फ पछिल्ला वषदेखि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको छ ।

यस्तै १३औं सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बैशाख पहिलो सातासम्म सम्बन्धितकै खातामा पठाएको विवरण भने यस खर्चमा नजोडिएको उनले जनाए । प्रतियोगिताका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकारले ३ अर्ब ६५ करोड विनियोजन गरेकोे थियो ।

प्रतियोगितामा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४२३ रुपैया आय भएको सदस्यसचिव सिलवालले बताए । खर्चतर्फ भने १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ संलग्न विवरण बमोजिम भएको छ । यस्तै ३ करोड ५५ लाख ७१ हजार १३७ बैंक मौज्दात रहेको र १ करोड ९३ लाख ८० हजार २२४ फ्रिज भएको पनि जनायो ।

राखेपको अनुसार ब्याडमिन्टन, कबड्डी, बास्केटबल, टेबलटेनिसका लागि म्याट र पदक, किट्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरुप प्राप्त भएको थियो । तीन वटा आयोजक स्थलका लागि पुर्वाधार निर्माण तथा मर्मततर्फ खर्च भएको राखेपले जनाएको छ ।

आयोजक नेपालले १३औं सागमा ऐतिहासिक सफलता हासिल गरेको थियो । सो प्रतियोगितामा नेपालले ५१ स्वर्णसहित कूल २ सय ७ पदक प्राप्त ग¥यो, जसमा ६० रजत र ९६ कांस्य सामेल थिए । सो सागमा नेपालकी जलपरी गौरिका सिंहले ४ स्वर्ण जित हात पारिन् । त्यस्तै करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले दुई–दुई स्वर्ण जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्