पत्रकारितामा व्यावसायिकता



आदरणीय पाठक वर्ग,

‘कामना’ मासिक पत्रिकाको प्रकाशन शुरु गरेर आधुनिक व्यावसायिक पत्रकारिताको अभ्यास थालिएको आज ३६ वर्ष पूरा भएको छ । मंसिर १५ गतेकै दिन ग्राफिक डिजाइनसहितको कामना सिने मासिकको पहिलो अंक २०४१ सालमा प्रकाशित भएको थियो । लेटर प्रेसमा धातुका लिडहरु जोडेर अक्षर बनाउने र काठका ब्लकबाट तस्वीर छाप्ने बेलामा ग्राफिक डिजाइनसहितको पत्रकारिताको अभ्यास कामना समूहले नै गरेको हो । निरन्तरता र जीवित इतिहास निर्माणका हिसाबले मुलुकमा कामना न्यूज पब्लिकेसन्स् प्रालि नै निजीक्षेत्रको जेठो प्रकाशन गृह हो भन्ने श्रद्धेय पाठकहरुलाई अवगत नै छ । यसले ‘साधना’ मासिक, सन्ध्याकालीन ‘महानगर’, राष्ट्रिय दैनिक ‘नेपाल समाचारपत्र’ र अनलाइन न्युज पोर्टल newsofnepal.com का माध्यमबाट लाखौं नेपाली पाठकलाई सुसूचित गराउने कार्य गर्दै आएको पनि यहाँहरुलाई थाहै छ ।

कामना न्यूज पब्लिकेसन्स्को ३७औं वार्षिकोत्सव पनि अन्य सबै पक्षजस्तै कोरोना भाइरसका कारण प्रभावित भएको छ । तर, यस महामारीलाई पनि सिर्जनात्मक तरिकाले आम नागरिकको सेवामा लगाउने हाम्रो योजना छ । सामयिक महत्वको कुनै मुद्दामा नेपाल समाचारपत्रले मंसिर १५ का दिन विशेषांक प्रकाशित गर्दै आएकोमा यसपटक भने यही महामारीलाई नै वार्षिकोत्सवको विषय बनाइएको छ । ‘कोरोना नायक’ शीर्षकमा यसपटक मंसिर १५ देखि पुस २७ सम्म सामग्रीहरु प्रकाशित हुनेछन् । यसको शुभारम्भ टेकु अस्पतालका प्रमुख परामर्शदाता डा. अनुप बास्तोलाको अन्तर्वार्ता प्रकाशित गरेर शुरु पनि गरिसकिएको छ । नेपाल समाचारपत्रको प्रकाशन शुभारम्भ भएको दिन पुस २७ गतेसम्म ‘कोरोना नायक’ शीर्षकमा सामग्री प्रकाशित हुनेछन् । मानवीय भावनाको उच्च मूल्यांकनका साथ समाज सेवामा समर्पित कोरोना नायकहरुले जसरी मुलुकको सेवा गरेका छन्, त्यसको सम्मानका लागि केही गर्न पाएकोमा कामना न्यूज पब्लिकेसन्स् प्रसन्नता प्रकट गर्दछ ।

यही वार्षिकोत्सवमा कामना समूहले आफ्ना संस्थापक स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित प्रथम पुस्तकाकार कृति पनि प्रकाशित गरेको छ । ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तकको विमोचन भएको छ । नेपालका पुस्तक भण्डार र पत्रपत्रिका पसलमा यो पुस्तक उपलब्ध छ । नेपाली आधुनिक पत्रकारिताका प्रवद्र्धक श्रेष्ठका देशभक्तिपूर्ण दृष्टिकोण र विचार पढ्नका लागि थुप्रै पाठकहरुले हामीलाई बारम्बार झकझक्याउँदै आउनुभएको थियो । स्वयं लेखक श्रेष्ठले ६१औं जन्मदिवसपछि विभिन्न विधाका पुस्तक लेखनमा सक्रिय हुने योजना पनि बनाउनुभएको थियो । दुर्भाग्यवश कामना प्रकाशनका प्रकाशक तथा प्रधान सम्पादक श्रेष्ठले ६१औं शुभजन्मोत्सव मनाउन पाउनुभएन, २०७६ साल वैशाख ४ गते उहाँको दुःखद निधन भयो । तर, उहाँले स्थापना गरेको कामना प्रकाशन परिवार जीवित छ र उत्तिकै सक्रिय पनि । उहाँले देखाएको व्यावसायिक पत्रकारिताको बाटो समाउँदै उहाँको संस्था नेपाली आम सञ्चारका क्षेत्रमा सदा सक्रिय रहने नै छ ।

व्यावसायिक पत्रकारिताको विकासमा पछिल्ला समयमा थप चुनौतीहरु सिर्जना भएका छन् । कामना मासिक प्रकाशनका बेला अग्रिम भुक्तानीका साथ विक्रेताहरु मात्र २० प्रतिशत कमिसनमा पत्रिका उठाउँथे, आज त्योभन्दा निकै बढी कमिसन दिँदा पनि भुक्तानी लिन प्रकाशकले लामो समय कुर्नुपर्छ । महानगरका बेला काउन्टरमै भुक्तानी दिएर विज्ञापन छाप्नेहरु लामबद्ध हुन्थे, तर आज विज्ञापनको कुल अंकमा अधिकांश प्रत्यक्ष–परोक्ष कमिसनका लागि छुट्याउनुपर्छ, प्रकाशकको हातमा अत्यन्त न्यून अंक मात्र पुग्छ । पहिला मिडियामार्फत व्यवसाय प्रवद्र्धन गर्न चाहनेहरु संस्थागतरुपमा कामना प्रकाशनसँगै प्रत्यक्ष सम्झौता गर्थे, व्यावसायिक सहमति हुन्थ्यो, तर आज कुनै पत्रकारलाई प्रभावमा पार्ने र समाचारका रुपमा विज्ञापन सामग्री छपाउने विकृत अभ्यास शुरु भएको छ ।

जबसम्म पुराना सञ्चार गृहका उद्यमीहरु एकजुट भएर सञ्चार उद्योगलाई माथि उठाउन ऐक्यबद्धता प्रकट गर्दैनन्, तबसम्म सञ्चार उद्योग माथि उठ्न सक्दैन । सञ्चार माध्यमलाई राज्यको चौथो अंग भनिन्छ । यो संवेदनशील र शक्तिशाली व्यवसाय पनि हो । तर तुलनात्मकरुपमा यस व्यवसायको स्थापना छोटो समयमै गर्न सकिन्छ । जसरी बैंकहरुलाई कडा दायरा पूरा गरेपछि मात्र नेपाल राष्ट्र बैकले खोल्न स्वीकृति दिन्छ, त्यसरी नै सञ्चार उद्योगलाई पनि आवश्यक प्रावधान पूरा गरेपछि मात्र खोल्ने अनुमति दिनु आवश्यक देखिन्छ । नत्र अनुचित ढंगको मिसन पत्रकारिता गर्ने मिडियाका कारण मुलुकलाई नै नोक्सान पु¥याउने अवस्था सिर्जना हुनसक्छ । एजेन्डा सेटिङ थ्योरीका अनुसार मिडियाले आम नागरिकमा सही वा गलत अवधारणाको बीजारोपण गरिदिन्छ ।

नयाँ मिडिया सञ्चालनमा ल्याउने क्रममा लगानीकर्ताहरु पूर्वाधारको कुरा गर्दा नियन्त्रण गर्न खोजियो भन्छन्, तर केही वर्षपछि नै उनीहरु त्यस सत्यलाई स्वीकार गर्छन् । तर, त्यस बेलासम्म बजार पूरै बिग्रिसकेको हुन्छ । उनीहरुले आफ्नो पुँजी पनि डुबाइसकेका हुन्छन् ।

कुरा कामना प्रकाशनको मात्र होइन, सम्पूर्ण नेपाली मिडिया जगत्को हो । यस्तो अवस्थामा व्यावसायिक पत्रकारितामा
टिकिरहन र पुष्करलाल श्रेष्ठले देखाएको बाटोमा अडिग रहन हामीलाई कठिनाइ नभएको होइन । तर पनि व्यावसायिक पत्रकारिताको अभ्यासमा कामना न्यूज पब्लिकेसन्स् परिवार प्रतिबद्ध छ । यही प्रतिबद्धताका साथ हामी ३७औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पूर्ण शुभचिन्तकहरुमा शुभकामना आदान–प्रदान गर्न चाहन्छौं । हामीलाई व्यावसायिक पत्रकारितामा अडिग रहन सघाइरहनुहोस् भन्ने अनुरोधसमेत गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्