कार्तिक नाचका लागि वडाबाटै १० लाख



नेपाल समाचारपत्र, ललितपुर

ललितपुर महानगरपालिका–१६ ले कार्तिक नाचको अक्षय कोषका लागि १० लाख रुपियाँ प्रदान गरेको छ ।
वडाध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राती बराह नाच देखाउनुअघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

सोही क्रममा वडाले सम्पूर्ण खर्च बेहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो । बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेकोले नयाँ मुकुट तयार पारिएको हो । १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो ।

सो अवसरमा वडाध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिरस्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रुपियाँ प्रदान गरिएको बताउनुभयो । सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाध्यक्ष शाक्यले ती संस्कृतिको पुनर्जीवन दिन र चिरस्थायीका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

वडाध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाइदिएको समितिका अध्यक्ष चित्रकारले बताउनुभयो ।

‘संस्कृति संरक्षण गर्नु धेरै गाह्रो छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेस गरेको छ ।’ –अध्यक्ष चित्रकारले भन्नुभयो ।

मुकुट हस्तान्तरणपछि नयाँ मुकुट लगाएर बराह नाच प्रस्तुत गरिएको थियो । बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो ।

शनिबार नरसिंह अवतार देखाउँदै कार्तिक नाच समापन गरिएको छ । कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्