उपराष्ट्रपतिका सवारी चालक सालक बिक्री धन्दामा



भक्तपुर, (नेस)

सालक बिक्री गर्न हिँडेका दुईमध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ ।

सुराकीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेका दुई जनामध्ये एक जना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये सशस्त्र प्रहरीमा कार्यरत भीमबहादुर मगर उपराष्ट्रपति पुनको बहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए । यसअघि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

यसबारेमा थप जानकारी माग्दा प्रहरी उपरीक्षक तारादेवी थापाले भने यसको अनुसन्धान वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसबारेमा प्रहरीले थप अनुसन्धान नगरी कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको प्रहरीले जनाएको छ ।

सालकसहित प्रहरीले धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडांै महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घरभई काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुरलाई पक्राउ गरेको थियो । धादिङबाट सालक बिक्रीका लागि लिएर आएको र सालक अरु कसैले अर्को पक्षलाई दिन पठाएको पक्राउ परेकाले बयान दिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा गर्भवती सालकले प्रहरी परिसरमै बच्चा जन्माएको जानकारी दिँदै प्रहरीले पक्राउ परेकाको थप अनुसन्धान र कारबाही डिभिजन वन कार्यालय भक्तपुरले गर्ने भएकाले वन कार्यालयलाई बुझाएको बताएको छ ।

वन कार्यालयका कर्मचारी र प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै पूर्वमाओवादी निकटसमेत हुन् । ठूला मान्छेका चालक भएर गैरकानुनी कार्यमा लागेकाले प्रहरीले यसबारेमा थप अनुसन्धान गर्नुपर्नेमा पन्छिएको वन कार्यालयका कर्मचारीको गुनासो छ । पदीय आड र पहुँचको भरमा मगरलाई कडा कारबाही प्रक्रिया अगाडि नबढाई वन कार्यालयले फितलोरुपमा मुद्दा चलाउने सम्भावना रहेको गुनासो आएको छ ।

प्रतिक्रिया दिनुहोस्