प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह



काठमाडौं, (नेस)

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा प्रम ओलीले भ्रष्टाचारीको संरक्षण गरेको उल्लेख गरेको थियो ।

‘वाइडबडी, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरणउपर निष्पक्ष छानबिन र कडा कारबाहीका लागि नेपाली कांग्रेसले माग राख्दै आएको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले पनि हाम्रा ती माग तथ्यपूर्ण रहेकोे पुष्टि गरेको छ ।’ –प्रवक्ता शर्माले भन्नुभयो ।

पछिल्लो एक वर्षमा एसियाली मुलुकमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु र भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरेको प्रतिवेदनले भन्नु देशकै लागि लज्जास्पद विषय हो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमा गम्भीर असर पुगेको स्थितिमा सत्तारूढ पार्टीले समेत कुनै प्रतिक्रिया नदिनु झनै शंकास्पद रहेको उहाँको धारणा छ ।

भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भन्ने प्रम ओलीले भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गरी आफ्नो ओहोदाकै अपमान गरेको आरोप कांग्रेसले लगाएको छ ।

त्यस्तै, स्वदेशी लगानीमा निर्माण गर्न सकिने भनी अध्ययन कार्यदलको निष्कर्षलाई पनि सरकाले विवादास्पद विदेशी कम्पनीलाई सुम्पन खोज्नु अपारदर्शिता र अनियमितता भएको प्रवक्ता शर्मा शर्माले शनिबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्