टाइसन र जोन्सको भिडन्त शनिबार



एजेन्सी ।

चर्चित मुक्केबाज माइक टाइसन र रोय जोन्स जुनियरबीचको बहुप्रतिक्षित प्रदर्शनी बक्सिंग भिडन्त नोभेम्बर २८ तारिख अर्थात शनिबार राति हुँदैछ । विशेष नियम लागू गरिने उक्त भिडन्त लस एन्जेल्सको स्टेपल्स सेन्टरमा हुनेछ । यसअघि यी दुईबीच सेप्टेम्बर १२ मा डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा भिडन्तको मिति तय गरिएपनि अर्थ संकलनलाई थप वृद्धि गर्न नोभेम्बर २८ मा सारिएको हो ।

उक्त भिडन्तका लागि क्यालिफोर्निया स्टेट एथ्लेटिक कमिसन (सीएसएसी) ले पनि आधिकारिक रुपमा स्वीकृति दिईसकेको छ । यो भिडन्त बक्सिंगको चलन चल्तीको नियमभन्दा अलि फरक ढंगले खेलाइने छ । आठ राउण्डसम्म हुने उक्त भिडन्तको प्रत्येक राउण्ड दुई मिनेटको हुनेछ । उक्त फाइटका लागि दुवै हेभीवेट बक्सरहरुले १२ ओन्सको बक्सिंग ग्लोभ्स लगाउनु पर्ने जनाइएको छ । साधारणतया हेभीवेट भिडन्तका लागि १० ओन्सको ग्लोभ्स लगाउने नियम रहेको छ । त्यस्तै, उक्त भिडन्तमा रिंगसाइडमा जजको उपस्थिति पनि हुनेछैन । दुवै खेलाडीले एक अर्कालाई नकआउट पनि गर्न पाउने छैन ।

विजेताको घोषणा समेत नगरिने उक्त खेलका क्रममा यदि कुनै एक मुक्केबाजलाई घाउ चोट लागेमा तत्कालै खेल समाप्त भएको घोषणा गरिने जनाइएको छ । टेलिभिजन मार्फत् उक्त खेल हेर्नका लागि भने पे पर भ्यू अनुसार शुल्क तिर्नुपर्ने छ । पछिल्लो पटक टाइसनले निरन्तर कडा प्रशिक्षण गरिरहेका भिडियोहरु सोसियल मिडियामा भाइरल भएको थियो । ती भिडियोमा सक्रिय खेलाडी छँदा उनमा जुन जोस् र जाँगर थियो त्यहि नै देखिएको छ । आईरन माइक उपनाम पाएका टाइसन अझैपनि निकै फुर्तिला देखिएका छन् । खेलाडी जीवनमा सफलतासँगै विवादित पनि बनेका टाइसन एक समय आर्थिक समस्यामा पनि परेका थिए । उनले आफ्नो तौल पनि घटाएका छन् ।

पूर्व हेभीवेट च्याम्पियन बक्सर टाइसनले बढ्दो उमेरमा पनि आफ्नो प्रिय खेललाई छोड्न सकेका छैनन् । ५४ बर्षको उमेरमा पनि टाइसनले सक्रिय खेलाडीको जस्तै कडा मेहेनत गरिरहेका छन् । सन् २००५ पछि कुनैपछि खेलमा सहभागिता जनाएका टाइसन अन्तिम खेलमा आयरल्याण्डका केभिन माकब्रेडसँग पराजित भएका थिए । जुन उनको करियरको छैटौं हार थियो । टाइसनले करियरको ४४ वटा फाइट नक आउटको आधारमा जितेका छन् ।

यता, अमेरिका र रसियाको संयुक्त नागरिकताधारी ५१ बर्षे जोन्सले भने सन् २०१८ को फेब्रुअरी ८ पछि कुनै पनि फाइट खेलेका छैनन् । उनले अन्तिम खेलमा स्कट सिगमोनलाई पराजित गरेका थिए । पूर्व फोर डिभिजन वर्ल्ड च्याम्पियन जोन्सले करियरको ७५ फाइट मध्ये ६६ मा जित दर्ता गरेका छन् । जसमध्ये ४७ फाइट नकआउटको आधारमा जितेका छन् । यसअघि सन् २००३ मा पनि यी दुईबीच फाइट हुने चर्चा चलेपनि विविध कारणले हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्