युभेन्ट्सको सहज जित



रोम, (एजेन्सी)
इटालियन क्लब युभेट्न्सले ‘सिरी ए’ लिग फुटबलमा सहज जित निकालेको छ।
शनिबार राति भएको लिगको आठौं साताको खेलमा युभेन्ट्सले क्याग्लिरअरीलाई २–० गोल अन्तरले हराएको हो। युभेन्ट्सलाई घरेलु मैदानमा जिताउन क्रिस्टियानो रोनाल्डो नायक बने। खेलमा भएका दुवै गोल रोनाल्डोले गरेका थिए।
एलिनाज रंगशालामा भएको खेलमा युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो। रोनाल्डोले खेल शुरू भएको ५ मिनेटको अन्तरालमा दुई गोल गरेर टिमको तीन अंक सुनिश्चित पारेका हुन्। रोनाल्डोले खेलको ३८औं मिनेटमा पहिलो गोल गरेका थिए। डिबक्स लाइन नजिकैबाट रोनाल्डोले क्याग्लिअरीका तीनजना डिफेन्डरका माझबाट बायाँ खुट्टाले हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेको थियो। उक्त गोलका लागि अल्भारो मोराटाले पास दिएका थिए।
उक्त गोल भएको चार मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल सम्भव पारे। यसपटक ४२औं मिनेटमा उनले कर्नरबाट आएको बलमा सुन्दर ढंगले माथिल्लो बार नजिकैबाट पोस्टको दिशा दिएका थिए। जुआन काउडराडोको कर्नर प्रहार युभेन्ट्समा मेरिह डेमिराललाई लाग्दै चिप्लिएको बलमा रोनाल्डोले कुनै गल्ती नगरी जाली चुमाएपछि युभेन्ट्स पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भएको थियो।
पहिलो हाफमा ह्याट्रिक गोलको मौका पाएका रोनाल्डोले दोस्रो हाफमा गोल थप्न सकेनन्। उनका दुई अवसरमा गोलकिपर बाधक बनेपछि रोनाल्डो सिजनको पहिलो ह्याट्रिकबाट चुकेका थिए। दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल युभेन्ट्सले २–० ले जित्यो। उक्त जितपछि युभेन्ट्सले लिगका ८ खेलबाट १६ अंक जोडेको छ। यता, पराजित क्याग्लिअरीको ८ खेलपछि १० अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्