बार्सिलोनालाई झट्का 



मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई उपाधि होडमा ठँलो झट्का लागेको छ।
लिगको आठौं खेलमा बार्सिलोनालाई एथ्लेटिको मेड्रिडले हराएको हो। शनिबार राति भएको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली बार्सिलोनालाई १–० गोल अन्तरले स्तब्ध बनाएको हो। आफ्नै गल्तीले पहिलो हाफमा व्यहोरेको एक गोल बार्सिलोनाको हारको कारण बन्यो।
एथ्लेटिकोको मजबुत रक्षापंक्तिसामु लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाका फरवार्डको कुनै जादु चलेन। बार्सिलोनालाई हराउन एथ्लेटिकोका यान्निक करास्कोले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक सावित बन्यो।
स्पेनिस ला लिगाअन्तर्गत नै भएको अर्को खेलमा रियल मेड्रिड पनि लिगको नवौं खेलमा बराबरीमा रोकियो। शनिबार राति अवे मैदानमा भएको खेलमा रियललाई भियारियलले १–१ गोलको बराबरीमा रोकेको हो। घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर भियारियलले रियलसँग अंक खोस्न सफल भयो।
रियलले खेल शुरू भएको दोस्रो मिनेटमै अग्रता लिएको थियो। करिम बेन्जेमाको अनुपस्थितिमा शुरुआतबाटै उत्रिएका मारिआनोले हेडिङमार्फत निकै सानदार फिनिसिङमा गोल गरेका थिए। ड्यानी कार्भाहालको पासमा उनले कठिन पोजिसनबाट हेडिङ गोल गरेर घरेलु टोलीलाई शुरुआतमै झट्का दिएका थिए।
रियलले सोही एक गोलको अग्रता ७५औं मिनेटसम्म जोगाएको थियो। तर, ७६औं मिनेटमा भिया रियलले पेनाल्टी पायो। रियलका गोलकिपर थिबाउट कोर्टुवाले बल लिएर डिबक्सभित्र छिरेका भिया रियलका खेलाडीलाई लडाएपछि रेफ्रीले सोझै पेनाल्टी दिएका थिए। जसमा जेरार्ड मोरेनोले गोल गरेर खेल बराबरीमा ल्याउन सफल भए।
त्यसपछिको बाँकी समयमा दुवै पक्षबाट खेलमा थप गोल नभएपछि १–१ को बराबरीमा टुंगियो। उक्त बराबरीपछि रियललाई अंक तालिकामा झट्का लागेको छ। रियलको खातामा अब ९ खेलबाट १७ अंक मात्र भएको छ। भिया रियलको भने १० खेलबाट १९ अंक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्