बेल्जियम र इटाली सेमिफाइनलमा प्रवेश



लन्डन, (एजेन्सी)
बेल्जियम र इटाली यूईएफए नेसन्स लिग फुटबको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बेल्जियम र इटालीले समूह चरणको अन्तिम खेलमा सानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन्। बुधबार राति भएको खेलमा बेल्जियमले आफ्नो घरेलु मैदानमा पाहुना टोली डेनमार्कमाथि ४–२ को प्रभावशाली जित निकालेको हो। घरेलु मैदानमा बेल्जियमलाई जिताउने क्रममा खेलको तेस्रो मिनेटमै युरी टिलेमिन्सले पहिलो गोल गरेका थिए।
तर, खेलको १७औं मिनेटमा डेनमार्कका लागि जोन्स ओल्डर विन्डले बराबरी गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए। दोस्रो हाफमा भने बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे। खेलको ५७औं मिनेटमा लुकाकुले पहिलो गोल गर्दा ६९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम ३–१ को सहज स्थितिमा पुगेको थियो।
त्यस्तै, खेलको ८६औं मिनेटमा बेल्जियमका खेलाडी नासिर चाडीले आत्मघाती गोल गरेपछि डेनमार्कसँगको अग्रता ३–२ मा छोट्टिएको थियो। तर, आत्मघाती गोल खाएको अर्को मिनेटमै बेल्जियमका लागि केभिन डे ब्रुयेनेले गोल गरेपछि खेल घरेलु टोलीले ४–२ ले जितेको हो।
यो जितसँगै बेल्जियम लिग ‘ए’ समूह–२ बाट समूह विजेता बनेर अर्को चरण पुग्दा डेनमार्क र इंग्ल्यान्ड निराश बने। अर्को चरण जान डेनमार्कलाई बेल्जियमविरुद्ध जित अनिवार्य थियो। यी समूहअन्तर्गत बुधबार राति नै इंग्ल्यान्डले आइसल्यान्डलाई ४–० ले हरायो।
त्यसैगरी, इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई उसैको घरेलु मैदानमा २–० ले निराश बनाउँदै प्रतियोगिताको सेमिफाइनलको यात्रा तय ग¥यो। बोस्नियाको घरेलु मैदानमा इटालीलाई जिताउने क्रममा आन्ड्रेया बेलोट्टी र डोमेनिको बर्राडीले १–१ गोल गरे। इटालीले खेलको २२औं मिनेटमा बेलोट्टीको गोलबाट अग्रता लिएको थियो। उक्त गोलका लागि लोरेन्टो इन्सिग्नेले असिस्ट गरेका थिए।
दोस्रो गोलका लागि भने इटालीले खेलको ६८औं मिनेटसम्म पर्खनुपरेको थियो। यसपटक बर्राडीले गोल गरेर पाहुना टोलीको अग्रता दोब्बर पारे। त्यसपछि, बाँकी समयमा खेलमा थप गोल नभएपछि खेल इटालीले २–० ले जित्यो। यो जितपछि इटाली समूह ‘ए’ को विजेता बनेर अर्को चरण प्रवेश गरेको छ। अर्को चरणका लागि अन्तिम खेलमा जित आवश्यक रहेकोमा इटालीले त्यसलाई प्राप्त गर्दै समूह विजेता बन्न सफल भयो। इटालीले कुल १२ अंक जोडेको छ भने नेदरयान्ड्सले ११ अंकसहित दोस्रो स्थानमा रहन सफल भएको छ।
बिहीबारै समूह चरणको अन्तिम खेलमा कमब्याक जित निकालेको नेदरल्यान्ड्स यूईएफए नेसन्स लिग फुटबलको उपाधि होडबाट आउट भएको हो। नेदरल्यान्ड्सले घरेलु टोली पोल्यान्डलाई २–१ ले हराए पनि अर्को चरणको यात्रा तय गर्न भने सकेन। यसै समूहमा इटालीले आफ्नो अन्तिम खेल जितेपछि नेदरल्यान्ड्सको अन्तिम चारको यात्रा अवरुद्ध बनेको हो।
आफ्नो घरेलु मैदानमा पोल्यान्डका लागि खेलको पाँचौं मिनेमै कामिल जोज्वाइकले पहिलो गोल गरेका थिए। सोही गोलको अग्रता बचाएर पोल्यान्ड जिततर्फ अघि बढेको थियो। तर, त्यसपछि पाहुना टोली नेदरल्यान्ड्सले उत्कृष्ट कमब्याक गर्न सफल भयो। खेलको ७७औं मिनेटमा फरवार्ड मेम्फिस डिपेले गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए।
त्यसपछि, ८४औं मिनेटमा जर्जिनिओ विज्नाल्डुमले अर्को गोल गरेपछि नेदरल्यान्ड्सको २–१ को जित पक्का भयो। हारसँगै पोल्यान्डले भने लगातार दोस्रो हार भोगेको छ। यसक्रममा टोलीका प्रमुख फरवार्ड रोबर्ट लेवान्डोस्कीको प्रदर्शन प्रभावकारी रहेन। टोलीले दुवै खेल हारेर उपाधि होडबाट आउट हुँदा लेवान्डोस्की लगातार गोलविहीन बने।
सेमिफाइनल समीकरण पूरा
बुधबार रातिको खेलपछि युरोपियन महादेशमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका रूपमा आयोजना हुने यूईएफए नेसन्स लिग फुटबलको दोस्रो संकरणमा सेमिफाइनलको समीकरण पूरा भएको छ। बुधबार राति बेल्जियम र इटाली समूह विजेता बनेसँगै सेमिफाइनलमा प्रतिसपर्धा गर्ने चारवटै टोलीको टुंगो लागेको हो।
यसपटक सेमिफाइनलमा युरोपका हेभिवेट टोली प्रवेश गरेका छन्। उपाधिका लागि फाइनल प्रवेश गर्न फ्रान्स, बेल्जियम, स्पेन र इटालीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। सबै टोली आ–आफ्नो समूहबाट समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेका छन्।
यसपटक नेसन्स लिगको सेमिफाइनलमा साविक च्याम्पियन पोर्चुगलविनै प्रतिस्पर्धा हुनेछ। अर्थात्, यसपटक नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ। पोर्चुगल अन्तिम खेल बाँकी छँदै समूह चरणको पाँचौं खेलमा आफ्नो घरमा फ्रान्ससँग १–० ले पराजित भएपछि उपाधि यात्रामा पूर्णविराम लागेको थियो। पोर्चुगलले अन्तिम खेलमा क्रोएसियालाई हराएको हो।
जसमा इटाली लिग ‘ए’ ग्रुप ‘ए’ बाट १२ अंकसहित समूह विजेता हुँदा बेल्जियम ‘ग्रुप बी’बाट १५ अंकसहित समूह विजेता बन्यो। त्यसैगरी, फ्रान्स लिग ‘ए’ ग्रुप ३’ बाट १६ अंकसहित समूह विजेता बन्यो भने स्पेन ग्रुप ‘डी’बाट ११ अंकसहित समूह विजेता बनेको छ।
अब प्रतियोगितामा सेमिफाइनलका खेल अर्को वर्ष इटालीले आयोजना गर्नेछ। सार्वजनिक खेल तालिकाअनुसार सन् २०२१ को अक्टोबर ६ देखि १० तारिखसम्म सेमिफाइनल र फाइनल चरण खेल खेलाइनेछ। सेमिफाइनलको ‘ड्र’ खेल तालिकाभन्दा ३ महिनाअघि यूईएफएले सार्वजनिक गर्नेछ।

प्रतिक्रिया दिनुहोस्