रवीन्द्रले जिते नेपालका लागि स्वर्ण



काठमाडौं, (नेस)

अनलाइन कराँते प्रतियोगिता सातो कप इन्टरनेसनलमा रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराँते संघको आयोजनामा नोभेम्बर १५ मा भएको सो प्रतियोगितामा मानन्धरले डिभिजन ‘जी’को पुरुष ४० वर्षमाथिको समूहमा स्वर्ण जितेका हुन् ।

मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा नरहरिपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षकसमेत रहेका मानन्धरले यूूबीसी सितोरियो सातो हा कराँते क्लबका माइक नाकात्सुलाई फाइनलमा पराजित गरेका थिए ।

नेपाल सितोरियो कराँते संघको तर्फबाट प्रतिस्पर्धा गरेका मानन्धरले २३.५२ अंक जोडेका थिए । पराजित माइकले २२.०६ अंक प्राप्त गरेका थिए । उनले १५ दिनअघि मात्र पनि कराँते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाइन कराँते च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

यसै गरी, नेपालका लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तर्गत ब्लुदेखि ब्राउन बेल्ट समूहमा नीता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् । आचार्यले यूबीसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिइन् । थीले २४.१० अंक प्राप्त गरेकी थिइन् ।

नीताले अक्टोबर ३० र ३१ मा नेसनल कराँते अफ ब्राजिलको आयोजनमा भएको अनलाइन कराँते वल्र्ड च्याम्पियनसिमा पनि स्वर्ण हात पारेकी थिइन् । यस्तै नीताले केरला कराँते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाइन इन्टरनेसनल कराँते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।

नेपालका लागि अर्को २ स्वर्ण सञ्जु देसार र मनीष कार्कीले थपे । सञ्जुले डिभिजन २७ अन्तर्गत महिला १४–१५ वर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिसा क्वानलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

सञ्जुले २३.६२ अंक जोडेकी थिइन् भने पराजित क्वानले २२.२८ अंक जोडेकी थिइन् । यस्तै मनीष कार्कीले डिभिजन ३० को पुरुष १४–१५ बर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काइका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनीषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए ।

नरहरिपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिनकुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफअन्तर्गत पुरुष ब्लाकबेल्ट इलाइटमा स्वनिम मानन्धरले २२.९२ अंकका साथ कांस्य प्राप्त गरे । यस्तै डिभिजन ‘डी’ पुरुष १६–१७ वर्ष ब्लाकबेल्ट इलाइटमा प्रनिल मानन्धरले २२.४० अंकका साथ कांस्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी गराए ।

विजयी खेलाडी सबै नरहरिपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मानन्धरले बताए । प्रतियोगितामा क्यानडालगायत नेपाल, भारत, यूूएसए, मोजाम्बिक, अस्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्