साउथहाम्पटनको पाँचौं जित



लन्डन, (एजेन्सी)
न्युक्यासल युनाइटेडमाथि २–० को जित हात पार्दै साउथहाम्पटन इंग्लिस प्रिमियर लिगको यस सिजन सानदार बनाउनतिर अग्रसर भएको छ। घरेलु मैदानमा पाएको उक्त जित साउथाम्पटनको जारी लिगमा पाँचौं जित हो।
८ खेल खेलिसकेको साउथहाम्पटनको १६ अंक छ। यस सिजनको लिगमा टिमले हालसम्म २ खेलमा मात्रै हार व्यहोरेको छ। टिमको जितमा चे एडाम्स र स्टुआर्ट आम्सट्रंगले गोल गरेका थिए। न्युक्यासलको भने ११ अंक रहेको छ। यस्तै, लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीले ब्राइटन १६औं स्थानमा तथा बर्नली १९औं स्थानमा रहेको छ।
साउथहाम्पटनका मेनेजर राल्फ हासेनहटलले उनको टिमले अंक तालिकामा डिफेन्डिङ च्याम्पियन लिभरपुलसरह १६ अंक जोडेकोमा जे पनि सम्भव भएको बताए। गत वर्ष लेस्टर सिटीबाट ९–० ले हारेपछि अस्ट्रियन मेनेजर बर्खास्त हुने देखिएको थियो। तर, उनी बर्खास्त हुनबाट जोगेका थिए।
यो साउथहाम्पटनको १९८८ पछि पहिलोपटक न्युक्यासलमाथि आराम जित थियो । मेनेजर हासेनहटलले भने– ‘हाम्रा समर्थकले यो सफलता मन पराउनेछन्। हामीले यो टिमसँग जे पनि सम्भव भएको महसुस गरेका छौं। यसमा म धेरै खुसी छु। हामीले धेरै रकम लगानी नगरी नै राम्रो नतिजा निकालेका छौं।’

प्रतिक्रिया दिनुहोस्