तेक्वान्दोमा ३ सय ६२ खेलाडीको सहभागिता



काठमाडौं, (नेस)
यही कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताका संयोजक कुमार लामा घिसिङले जानकारी दिए।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरू विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाएको संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए। हालको विषम् परिस्थितिमा पनि खेलाडीले उत्साहजनक सहभागिता जनाएका छन्। प्रतियोगिता संयोजक घिसिङले भने– ‘यसले आगामी दिनमा पनि भव्य कार्यक्रम आयोजना गर्न हौसला दिएको छ।’

च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता सुनिश्चित गरेको प्रचारप्रसारका संयोजक कविराज नेगी लामाले जानकारी दिए।

च्याम्पियनसिपमा सहभागिताका लागि रजिस्ट्रेसन गरेका खेलाडीले शुक्रबारसम्म दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ। प्राप्त भिडियोको शनिबार र आइतबार अन्तर्राष्ट्रिय रेफ्रीले मूल्यांकन गर्ने छन् भने सोमबार विजेता खेलाडीको नतिजा सार्वजनिक गरिने भएको छ।

युनाइटेड तेक्वान्दो डोजाङ, सितापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यू बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो। च्याम्पियनसिपमा यू–१०, १२, १४, १७, २१, २९, ४०, ५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ। हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै विधा तोकिएको छ।

प्राप्त भिडियोहरू युट्युबमा अपलोड गरिने र सबैभन्दा बढी भ्युज प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रूपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता संयोजक घिसिङका अनुसार च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितको उपचारका लागि खर्च गरिने भएको छ।

च्याम्पियनसिपलाई सफलरूपमा सञ्चालन गर्न पूर्वराष्ट्रिय खेलाडीले पनि सहयोग गरेका छन्। पूर्वराष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो, प्रदीप व्यञ्जनकारलगायतले सहयोग गरेको र अरू तेक्वान्दोकर्मीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्