धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्ने



काठमाडौं, (नेस)
धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन्। उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिएका हुन्। कार्की पनि गोदामचौरवासी हुन्। उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड शुरू गर्नेछन्।
कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोस्रोपटक दौड्न लागेका हुन्। करिब २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए। ‘मदिरामुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिनेछ। कार्कीको दौडलाई नेपाल शाकाहारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ। शाकाहारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले पनि व्यक्तिगतरूपमा कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्की २०६४ सालमा १ सय १ दिन लगाएर दौडेर ७५ जिल्ला पुगेका थिए। त्यस्तै, उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा एकपटक दौडिसकेका छन्। ४९ वर्षीय कार्कीले काठमाडौं–उत्तर प्रदेश– बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोर–दोहोर गरेका छन्।
दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने बताएका छन् उनले। ‘विगतमा पनि दौडबाट संकलित केही प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेका थिए। यसपटक पनि सहयोगलाई निरन्तरता दिनेछु’– कार्कीले भने। उनको दौडलाई पूर्वधावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्