नेपाली राष्ट्रिय फुटबल टिम ढाकातिर



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टिम हिमालयन एयरलाइन्समार्फत बिहीबार ढाका प्रस्थान गरेको छ। बंगलोदशसँग १३ र १७ नोभेम्बरमा मैत्री खेल खेल्नका लागि टिम त्यसतर्फ लागेको हो। नेपाली टिममा नयाँ र पुराना अनुहार गरी २५ खेलाडी रहेका छन्। त्यस्तै, प्रमुख कोच बालगोपाल महर्जनसहित अन्य ९ सदस्य पनि टिमसँगै ढाका प्रस्थान गरेका छन्।
नेपाली टिमले खेल्नुअघि ढाकाको होटलमा करिब एक साता जति क्वारेन्टाइनमा बस्नुपर्ने छ। कोरोना भाइरसको परीक्षणपछि नेपाली टिमले प्रशिक्षणको मौका पाउनेछन्। नेपाली टिमका प्रमुख कोच महर्जनले टिम सन्तुलित बनेको बताएका छन्। उनले भने– ‘शुरूमा अलि फिटनेसको कमी भएको थियो, पछि प्रशिक्षण हुँदै जाँदा खेलाडीको फिटनेसमा सुधार आयो। ढाकामा पनि एक साता जति समय भएको हुँदा खेलाडीले अझै अभ्यास गर्न पाउनेछन्।’
टिममा नयाँ अनुहारको प्रवेशले भविष्यमा टिम बनाउन सहज हुने पनि महर्जनले बताएका छन्। उनले भने– ‘कोरोनाले गर्दा कति खेलाडी टिममा अटाएनन्, यसले पालो पर्खेर बसेका खेलाडीले मौका पाएका छन्। यो सकारात्मक कुरा हो। खेलपछि कोही खेलाडी राम्रो भएर निस्कन सक्छन्। यो खेलबाट भविष्यमा विश्वकप छनोट र एसियन छनोटका लागि खेलाडी छनोट अवसरको रूपमा पनि हुनेछ।’
यसपटक कोरोनाले राष्ट्रिय टिममा नियमित सदस्य पनि बाहिरिनुपरेको छ। रोहित चन्द पनि चोटका कारण टिममा समावेश भएनन्। उनीहरूको स्थान ८ नयाँ अनुहारले ओगटेका छन्, जसमा एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, डिलेन मोक्तान, पुजन उपरकोटी, सेसेहाङ आङडेङबे र छिरिङ गुरुङ हुन्। यी खेलाडीले राम्रो गरेमा राष्ट्रिय टिममा नियमित स्थान बनाउने उनीहरूका लागि अवसर छ।
टिमका अन्य १७ खेलाडीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, बिक्रम लामा र बिमल राना रहेका छन्। त्यस्तै, विशाल श्रेष्ठ, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रन्जीत धिमाल, रवि पासवान, सरोज दाहाल, सुभाष गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल र तेज तामाङ रहेका छन्।
हेड टु हेडमा नेपाल अगाडि
नेपाल र बंगलादेशबीच आमनेसामने हुँदा हेड टु हेडमा नेपाल अगाडि रहेको छ। कुल १९ खेल खेलिएकोमा नेपालले १२ खेलमा बंगलादेशलाई हराएको छ। ६ खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ भने एक खेल बराबरी भएको छ। तर, पछिल्ला ५ खेलको तथ्यांक लिँदा भने बंगलादेशले नेपाललाई पछि पारेको छ।
उक्त ५ खेलमा नेपाल ३ पटक हारेको छ भने एकमा जित हात पार्न सफल भएको छ। एक खेल ड्र भएको छ। नेपाल ती तीनैपटक साफ च्याम्पियनसिपमा पराजित भएको हो। अघिल्लो खेल साफ च्याम्पियनसिपमा नेपाल बंंगलादेशसँग २–० ले हारेको थियो। यो खेल २०१८ सेप्टेम्बर ८ मा खेलिएको थियो, हाल करिब दुई वर्षपछि पुनः यी दुई टिमबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्