बार्सिलोनाको लगातार तेस्रो जित 



लन्डन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ।
प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २–१ गोल अन्तरले हराएको हो। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले खेलको पाँचौं मिनेटमा गोलको खाता खोलेका थिए।
डिबक्समा किभका खेलाडीले फाउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी हान्ने अवसर दिएका थिए। जसमा मेसीले विनाकुनै गल्ती गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। यससँगै मेसीले यो सिजन बार्सिलोनाका लागि लगातार चौथो गोल पनि पेनाल्टीमार्फत नै गरेका छन्। उनले यो सिजन हालसम्म पेनाल्टीबाहेक गोल गर्न सकेका छैनन्।
बार्सिलोनाले दोस्रो गोल खेलको ६५औं मिनेटमा गरेको थियो। यसपटक डिफेन्डर जेरार्ड पिकेले हेडिङमार्फत गोल गरे। अन्सु फातीले डिबक्समा दिएको पासमा पिकेले गोल गरेर टिमको अग्रता दोब्बर पारे। त्यसपछि, ७५औं मिनेटमा पाहुना टोली किभले पनि गोल फर्काएर खेलमा फर्किने संकेत दिएको थियो।
बार्सिलोनाको कमजोर डिफेन्सको फाइदा उठाउँदै किभका भिक्टोरले गोल गर्दै खेल २–१ मा छोट्याएका थिए। तर, त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसक्दा खेलमा बार्सिलोना विजयी बन्यो। यससँगै बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा खेलेका तीनवटै खेल जित्न सफल भएको छ। यो जितसँगै बार्सिलोेनाले तीन खेलबाट ९ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थान ओगटेको छ। पराजित किभ भने मात्रै १ अंकसहित तेस्रो स्थानमा छ।
पीएसजी पराजित
प्रमुख खेलाडीद्वय नेयमार र क्लियन एमबाप्पेविनाको पेरिस सेन्ट जर्मेन पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा हारको सामना गरेको छ। बुधबार राति नै भएको समूह चरणको तेस्रो खेलमा पिएसजीमाथि घरेलु टोली आरबी लिपजिगले २–१ को पुनरागमन जित निकाल्न सफल भएको छ।
उक्त खेलमा पिएसजीका दुई खेलाडीले रातो कार्ड पाएका थिए। पाहुना टोली पिएसजी खेलको ६९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। पिएसजीका इन्ड्रिसा गुएईले दोहोरो पहेंलो कार्ड व्यहोरेर मैदान छोड्नुपरेको थियो। त्यसपछि, इन्जुरी समयमा पिएसजीका अर्का खेलाडी प्रेस्नल किम्पेम्बे पनि दोहोरो पहेंलो कार्डका शिकार बनेका थिए।
पिएसजीले खेलको छैठौं मिनेटमा नै एन्जेल डि मारियाको गोलबाट अग्रता लिएको थियो। त्यसपछि, खेलको १६औं मिनेटमा पिएसजीले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाउने मौका पाएको थियो। तर, डि मारियाले पेनाल्टीमा गोल गर्न नसकेपछि पिएसजी अग्रता बढाउने मौकाबाट चुक्न पुग्यो। पिएसजीका लागि एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्न नसक्नु हारको प्रमुख कारण बन्यो।
पेनाल्टी गुमाएर दबाबमा परेको पिएसजीले खेलको ४१औं मिनेटमा बराबरी गोल व्यहो¥यो। घरेलु टोली लिपजिगका लागि क्रिस्टोफर कुन्कुले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए। दोस्रो हाफमा लिपजिगले पेनाल्टीमार्फत निर्णायक गोल ग¥यो। खेलको ५७औं मिनेटमा पाएको पेनाल्टीमा इमिल फर्सबर्गले पेनाल्टीमा गोल गरेपछि खेलमा घरेलु टोलीले २–१ को अग्रता बनाएको हो। त्यसपछि, पिएसजी पुनः खेलमा फर्किन सकेन र खेल लिपजिगले जित्यो।
उक्त हारसँगै पिएसजी तीन खेलबाट मात्रै ३ अंकसहित समूह ‘एच’ को तेस्रो स्थानमा झरेको छ। विजयी लिपजिग तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ। समान ६ अंक नै भएको म्यानचेस्टर युनाइटेड भने शीर्ष स्थानमा छ।
डर्टमन्डको जित
जर्मन क्लब बोरुसिया डर्टमन्डले पनि प्रभावशाली जित निकालेको छ। समूह चरणको तेस्रो खेलमा डर्टमन्डले बेल्जियमको क्लब ब्रुगीलाई उसैको घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो। अवे मैदानमा डर्टमन्डलाई जिताउन दुई गोल योगदान गरेका नर्वेका युवा स्टार अर्लिङ हल्यान्ड नायक बनेका छन्। डर्टमन्डले खेलको १४औं मिनेटमा थ्रोगन हाजार्डको गोलबाट अग्रता लिएको थियो। त्यसको ४ मिनेटमै हल्यान्डले पहिलो गोल गरेर खेललाई २–० को स्थितिमा पु¥याएका थिए।
दुई गोल व्यहोरेर चर्को दबाबमा परेको ब्रुगीले खेलमा केही राम्रा गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेन। सोही क्रममा खेलको ३२औं मिनेटमा तेस्रो गोल हल्यान्डले नै गरेपछि डर्टमन्ड ३–० ले अघि रह्यो। त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल डर्टमन्डले ३–० ले सहजै जित्यो। जितसँगै डर्टमन्ड तीन खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। ५ अंक भएको लाजियो दोस्रो स्थानमा छ। त्यस्तै, पराजित ब्रुगी भने ४ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्