टन्सिलले बिगारेको मुटु


नेपाल समाचारपत्र, काठमाडौं
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले लेखेको ‘टन्सिलले बिगारेको मुटु’ नामक किताबमा रोकथामका पक्षमा ख्याल नगर्दा मुलुकमा हरेक वर्ष हजारौं बालबालिका मुटु रोगी भएको खुलासा गरिएको छ ।
डा. रेग्मीले शनिबार काठमाडौंमा आयोजित सोही किताब बारेको अन्तरक्रिया तथा समीक्षा कार्यक्रममा भन्नुभयो– ‘देशमा एक करोड रुपियाँ रोकथामका लागि खर्च गर्दा पुग्नेमा सरकार उपचारका लागि ३० करोड खर्च गरिरहेको छ ।’
नेपाल हृदयरोग निवारण प्रतिष्ठान आयोजक रहेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. रेग्मीले आफ्नो ३३ वर्ष लामो अनुभव सुनाउँदै पेनिसिलिन खोप वा ट्याबलेटको प्रयोग गरेर टन्सिलका बिरामी बालबालिकाको उपचार गर्दा केही सय रुपियाँ खर्च भए पुग्ने, बाथ हुँदै मुटुको खराबी नहुने तर रोकथामका पक्षमा ख्याल नगर्दा मुुटु नै खराब भएपछि उपचार गर्दा लाखौं खर्च हुने विवरण दिनुभयो ।
सोही कार्यक्रममा अर्का वरिष्ठ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले समयमा यस विषयमा ध्यान दिन नसक्दा आफ्नै परिवारका सदस्य गुमाउनुपरेको तीतो अनुभव सुनाउँदै पुस्तकको समीक्षा गर्नुभएको थियो । ‘यो कमिसनको चक्कर हो, शासक–प्रशासकबाट हुने भ्रष्टाचारको प्रमाण हो– विरामी नै भएनन् भने कमिसनखोरहरुले कुन शीर्षकमा कमाउने ?’ –डा. उप्रेतीले भन्नुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान प्रकाशक तथा वरिष्ठ पत्रकार लक्ष्मण अधिकारी सम्पादक रहेको यस पुस्तकका अनुसार बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रताडितहरुको मुद्दा हो, यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुने गरेको, आठ सय जनाको मुटुको भल्भ फेर्नेजस्तो महँगो र जटिल शल्यक्रिया भइरहेको मार्मिक विवरण प्रस्तुत छ ।

Skip This