राष्ट्रिय कविता महोत्सव मंसिरमा, पुरस्कार राशि बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं

स्थगित राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को आइतबार बसेको बैठकले सो निर्णयहरू गरेको हो ।

बैठकले प्राज्ञसभाको ३५औं बैठक मंसिरको चौथो साता बोलाउने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । स्थगित राष्ट्रिय कविता महोत्सव भौतिक दूरी कायम गरी प्रज्ञा भवन, कमलादीमा आयोजना गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव कोरोना भाइरस (कोभिड–१९) कारण निर्धारित मितिमा हुन सकेको थिएन ।

राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । निर्णयअनुसार अब कविता महोत्सवमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसअघि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रुपियाँ रहेको थियो ।

प्राज्ञ परिषद्को बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको बौद्धिक चोरी भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा नेपाल प्रज्ञा–प्रतिष्ठानको नामसमेत मुछिएकाले सत्यतथ्य छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित समितिमा प्राडा हेमनाथ पौडेल र प्राडा गोपीन्द्र पौडेल रहनुभएको छ ।

सञ्चारमाध्यमहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्राडा लुइँटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धनात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइँटेलले आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको र यसबाट उहाँले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको उल्लेख छ ।

यसै गरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक अनुसन्धान विधिको प्रयोग नगरी उहाँले लेखेको पुस्तकलाई प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति प्रश्न उठेकाले सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

बैठकले सवारीसाधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरमा देवनागरी लिपिकै प्रयोग गर्ने सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षणका आधारमा प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको देवनागरी लिपिकै प्रयोग गरिने प्रतिबद्धता प्रकट गर्नुभएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ । बैठकले अन्य विभिन्न प्राज्ञिक तथा प्रशासनिक निर्णयहरू गरेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।