नेता ज्यू, पीडितका बस्तीमा दलीय डम्फु कहिलेसम्म बजाउने ?



सिन्धुपाल्चोकले पछिल्लो दुई महिनामा निरन्तरका ठूला ठूला बिपतिको सामना गरिरहेको छ । बाह्रबिसेको जम्बु बाढी, भोटेकोसीको बुलकोटे पहिरो, जुगलको लिदी पहिरो हुँदै दुई दिन अघि बाह्रबिसेको घुम्थाङ पहिरोसम्म आइपुग्दा १ सय १५ हताहत भए । उनीहरुमध्ये ७३ को मात्रै शव फेला पर्‍यो, ४२ जना बेपत्ता छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङक हेर्दा बाढी पहिरोले ३ हजार बढि घर परिवारको उठिवास लगाएको छ । दुई महिनाकै बीच यति भयावह किसिमको मानविय क्षती र बिध्वंशले आज सिन्धुबासी त्राहीमाम छन् । सुन्दर भविष्यको सपना साँचेर सुतेकाहरु बिहान लाश बनेर निस्कनु पर्ने अत्यासलाग्दो अवस्था छ । ‘भागेर कहाँ जाउँ?, छैन पहिरो नखस्ने ठाउँ,’, केहि दिनअघि बाँसखर्कस्थित विस्थापितका सेल्टरमा पुग्दा जुगल गाउँपालिका २ लिदीगाउँकी सुनमायाँ लोप्चनले भन्दै थिईन् ।

भूकम्पपछि थिलथिलो बनेको सिन्धुको भुगोल निरन्तरका बर्षाले कमजोर बनिरहेको छ । भुगर्भबिदका अनुसार भोटेकोसी करिडोर र जुगल भेगका अधिकाँश मानव बस्ति पहिरोको उच्च जोखिममा छन् । भूकम्पपछि सरकारले भूअध्ययन गर्‍यो, जोखिमका बस्ती पहिचान पनि भए । तर बिडम्बना राज्यले जोखिमका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्न सकेन ।

सरकार त्रिपाल पठाएर पहिरोको क्षति रोक्न खोज्छ, जनता त्रिपालमा बस्न नसकेर जोखिम मोलेरै बस्छन् । जोखिमका जनता चटक्कै थातथलो छाड्न तयार हुँदैनन् । गाईगोठ र जग्गाजमिनको मोह हट्न नसक्दा पनि बर्षेनी पहिरोमा परि जनताले मृत्युवरण गर्नुपरिरहेको तितो यथार्थ हो । सरकार एकथान त्रिपाल दिएर आफ्नो कर्तब्य पुरा भएको ठान्दछ, उनीहरुका लागी उचित ठाउँमा स्थानान्तरण गर्न सक्दैन ।‘जोखिमका जनतालाई सुरक्षित ठाउँमा अस्थायी वास्थान व्यवस्था गर्दापनि उनीहरु गाईगोठ र जग्गाजमिन भनेर पहिरोमुनि बस्छन्, सहजै थातथलो छाड्न कोही तयार हुँदैनन’, जिल्लास्थित एक स्थानीय सरकार प्रमुख भन्छन् ।

राष्ट्रिय राजनीतिमा सिन्धुपाल्चोकले धेरै नेताहरुलाई स्थापित गराएको छ । आजको संवैधानिक व्यवस्थामा सिन्धुपाल्चोकको प्रतिनीधित्व पक्कैपनि चानचुने छैन । र पनि सिन्धुपाल्चोक भयावह विपतिको सामना गरिरहेकै छ । तर जोखिमका बस्ती स्थानान्तरणका लागी ठोष पहल हुनसक्दैन । जनधन क्षति भइसकेपछि पीडितका संवेदनामाथि राहतका नाममा राजनीति हुन थाल्छ ।

शिक्षा, पालनपोषणको जिम्मा लिनेदेखि पीडितका घर बनाइदिने भन्दै राजनीतिक प्रोपोगाण्डा सुरु हुन्छ । जनता प्रकोपबाट प्रताडित भइरहँदा नेताहरुलाई चुनाव लागेझैँ हुन्छ । पीडितका संवेदनामाथि खेलवाड गर्दै कुनै अमुक नेताका देवत्वकरण गर्न थालिन्छ । पीडितका घाउमा दाताले राहतको मल्हमपट्टी लिएर आउँदा समेत पीडित प्रभावितका बस्तीमा दलिय डम्फु बज्न थाल्छ । नेतागण, राजनीति पछि गर्नुहोस, बिपदमा सबै जुटेर जनहितमा लाग्नुस । सक्नुहुन्छ, जोखिमका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्दै जनताका जीउधन जोगाउन लाग्नुस, यो भोट माग्ने र भोट जोगाउने बेला होईन ।

प्रतिक्रिया दिनुहोस्