नेपालको रिभर इन द मिरर बुसानको एपीएममा



रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म रिभर इन द मिरर बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ। भुटानी निर्देशक टासी ग्याल्छेनसँगको सहकार्यमा बन्न लागेको फिल्म यो साल छनोट भएका २२ फिल्ममध्ये एकमा पर्न सफल भएको हो।

एसियन प्रोजेक्ट मार्केट कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलको महत्वपूर्ण इभेन्ट हो। बुसान इन्टरनेसनल फिल्म फेस्टिवल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ यो साल भर्चुअलरूपमा सम्पन्न हुने कार्यतालिका रहेको छ।

पोखरेल र ग्याल्छेनले यसअघि निर्माण गरेको फिल्म रेड फालुस सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो। बुसान इन्टरनेसनल फिल्म फेस्टिवलअन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन फिल्मलाई फेप्रिस्की अवार्ड दिने प्रचलन छ।

एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पु¥याउने उद्देश्यले शुरू भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवानलगायतका देशका फिल्ममेकर छनोट भएका छन्। बुसानले भर्खरै जारी गरेको एपीएमको लाइनअपमा कान्समा अवार्ड जितिसकेका निर्देशक पनि छन्।

रिप्पल अफ लाइफ शीर्षकको फिल्मसहित एपीएममा छनोट भएका चिनियाँ निर्देशक वेई सुुनको पछिल्लो फिल्म स्ट्राइडिङ इन्टु द वाइन्डले सन् २०२० को कान्स जितेको थियो भने जापानी निर्देशक कोजी फुकडाको पछिल्लो फिल्म द रियल थिङले पनि कान्स जितेको थियो। त्यसै गरी फुकडाको फिल्ममा हार्मिनियमले पनि सन् २०१६ मा जुरी अवार्ड जितेको थियो। बुसानको विभिन्न सेक्सनमा अवार्ड जितेका निर्देशक पनि यो पटकको एपीएममा छनोट भएका छन्।

कोभिड–१९ का कारण यो सालको फेस्टिवल भने भर्चुअल हुनेछ। त्यसैले एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअलरूपमै सम्पन्न हुने पोखरेलले जानकारी गराए। उनले एपीएम एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्ने सवालमा महत्वपूर्ण प्लेटफर्म रहँदै आएको जानकारी गराए। ‘नेपाल जस्तो देशका लागि विश्व सिनेमामा उपस्थिति देखाउन एपीएम एकदमै राम्रो प्लेटफर्म हो।

त्यसबाहेक युरोपमा प्रोड्युसिङ पार्टनर भेट्टाउनमा पनि यसले मद्दत गर्ला भन्ने अपेक्षा छ।’ –पोखरेलले भने। रिभर इन द मिररले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमालाई बदला लिन उनलाई अमर बनाउन सञ्जीवनी बुटी खोज्न हिँडेको कथा प्रस्तुत गर्नेछ।

पोखरेलले फिल्मको बजेट साढे तीन करोड हाराहारी रहेको बताए। पोखरेलले यसअघि हाइवे टु धम्पुस, कथा ७२, माउन्टेन टु क्लाइम्बजस्ता फिल्म बनाइसकेका छन्। जसमध्ये माउन्टेन टु क्लाइम्बले नेपाललाई पहिलोपल्ट एम्मी अवार्ड जिताएको थियो।

 

प्रतिक्रिया दिनुहोस्