दार्चुलाका ५ जनामा स्क्रब टाइफसको संक्रमण भेटियो



न्युज अफ नेपाल,दार्चुला ।

हिमाली जिल्ला दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलामा भाद्र १२ र १४ गते गरिएको परिक्षणमा ३ जना महिला तथा २ जना पुरुषमा स्क्रब टाइफस भेट्टीएको अस्पतालका सुचना अधिकारी तथा सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिनुभयो । स्क्रब टाइफस रोगसंग मिल्दो जुल्दो लक्षण लिएर अस्पताल आएका उनिहरुको आरडिटी परिक्षण गर्दा सङ्क्रमण देखापरेको उहाँले बताउनुभयो ।

जिल्लाको महाकाली नगरपालिकाका १ पुरुष, मालिकार्जुन गाउँपालिकाका २ जना महिला र १ पुरुष तथा ब्याँस गाउँपालिकाका १ जनामा पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उहाको भनाई छ । उनिहरु मध्ये १ जनालाई धनगढी रेफर गरिएको छ, भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको उहाले जानकारी दिनुभयो । बाकी ३ जनामा रोगका सामान्य लक्षण भएका कारण उनिहरुलाई घर छोडिएको उहाँले बताउनुभयो ।

परिजिवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने उहाले बताउनुभयो । स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबढी हुने लगायतका लक्षण देखा पर्ने उहाले जानकारी दिनुभयो ।

रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उहाँले बताउनुभयो । किर्नाको टोकाईबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर मात्रै बस्नु पर्ने सुचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्