महिलाको तुलनामा दोब्बर पुरुष कोरोना संक्रमित,फोन ट्रेसिङ सुरु



न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेशका १३ जिल्लामा महिलाको तुलनामा दोब्बर संख्याका पुरुषमा कोरोना संक्रमण देखिएको छ । पुरुषबमा ६६ दशमलव १ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले जानकारी दिनुभयो । प्रदेशका कुल संक्रमितको ३३ दशमलव ९ प्रतिशत महिला छन् ।

महिलाको तुलनामा पुरुष कामका लागि घरबाहिर निस्कने गरेका छन् । ती महिलामा कोरोना संक्रमण देखा परेपछि घरका महिला र बालबालिकालाई पनि संक्रमण हुनसक्ने आशंका छ । कोरोना संक्रमणका कारण प्रदेशमा ४२ जनाको मृत्यु भइसकेको छ । शुक्रबार एकैदिन ५ सय ३७ जनामा परीक्षण क्रममा कोरोना भाइरस संक्रमित देखिए । पहिलेको तुलनामा एकैदिन धेरै जनामा कोरोना संक्रमण पुष्टि भयो ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कोरोना परीक्षण गर्न थालिएपछि संक्रमित थपिएका हुन् । हालसम्म प्रदेशमा ६ हजार ६ सय ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखापरेको छ । संक्रमितमध्ये धेरैजसो उपचाररत् छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा ९ सय ६६ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको डा. सेढाईंले जानकारी दिनुभयो ।

प्रदेशका १३ जिल्लामध्ये सबभन्दा बढी काठमाडौं उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा विदेशबाट फर्किएका भन्दा हाल स्थानीय समुदायमा नै बसेकामा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि प्रभावित छन् । पछिल्लो समय कोरोना जाँच गर्ने दायरा प्रदेश सरकारले बढाएसँगै कोरोना संक्रमित पनि बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिमा कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा बसेकाको फोन ट्रेसिङ सुरु गरिएको छ । होम आइसोलेसनमा रहेकाको मोबाइल एपमार्फत् हेटौंडा अस्पतालले संक्रमितको ट्रेसिङ सुरु गरेको हो । कोरोना संक्रमित घरबाट बाहिर निस्कने गरेको गुनासो आएकाले उनीहरुका लागि फोन ट्रेसिङ सुरु भएको हेटौंडा अस्पतालका सुपरिटेण्डेन्ट डा. प्रवीण श्रेष्ठले बताउनुभयो । हेटौंडा–४, १ र ६ मा फोन ट्रेसिङ सुरु भइसकेको छ । फोनबाट ट्रेसिङको काम सुरु गरिएको जानकारी दिनुभयो । हेटौंडाका सबै वडामा यसरी नै उनीहरुको अबस्था पत्ता लगाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्